विराटनगरमा औषधि पसलको ठगि , दोब्बर मूल्यमा बिरामीलाई औषधि बेचियो

<span class='c1'>विराटनगरमा  औषधि पसलको ठगि ,</span> <span class='c2'>दोब्बर मूल्यमा बिरामीलाई औषधि बेचियो</span>

शशिधर पराजुली

विराटनगर, साउन १० गते । विराटनगरस्थित एउटा निजी नर्सिङ होममा सञ्चालित औषधि पसलले दोब्बर मूल्यमा बिरामीलाई औषधि बिक्री गर्ने गरेको पाइएको छ । विराट नर्सिङ होमको नामले चिनिने विराट अस्पताल प्रालिले मासिक नौ लाख रुपियाँमा भाडामा लगाएको फार्मेसीले अस्पतालमै काम गर्ने कर्मचारीका बिरामीलाई ठगी गरेपछि त्यस्तो रहस्य
खुलेको हो । अस्पतालमा कार्यरत जितेन्द्र कामतका नातेदार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । बिरामीका लागि आवश्यक औषधि मेडिमिक्स फार्मेसीबाट खरिद गरेर लगेका थिए । विश्वासै नलाग्ने गरी धेरैको बिल बनेपछि बिरामीका आफन्तले औषधिको मूल्य बाहिरका पसलमा बुझेका थिए । बाहिरका पसलमा बुझ्दा औषधिको मूल्य सात हजार पाँच सय हुने हिसाब आएको थियो तर मेडिमिक्स फार्मेसीमा त्यो औषधिको बिल १८ हजार रुपियाँको आएको बिरामी पक्षले
जनाएका छन् ।
फार्मेसीले ठगी गरेपछि स्थानीय औषधि पसलेले समेत सबै व्यवसायीको बदनाम हुने भन्दै अस्पताल प्रशासनलाई जानकारी गराएका थिए । अस्पताल प्रशासनले भने आन्तरिक विषय भएकाले छलफल गरेर समाधान खोज्ने प्रतिक्रिया दिएको छ । अस्पताल प्रशासनका प्रमुखले पटक–पटक टेलिफोन गर्दासमेत टेलिफोन नै उठाउनुभएन ।
पीडित पक्ष अस्पतालमै जागिर गर्ने भएकाले जागिर सुरक्षाका लागि पनि बोल्न सक्ने अवस्थामा छैनन् । मेडिमिक्स फार्मेसीका सञ्चालक अनिल चौधरीले भूलवस बढी बिलिङ हुन गएको र त्यसलाई आपसी सहमतिमा सच्याइएको बताउनुभयो । उहाँले एउटा बिरामीको बिल अर्कोलाई परेको दाबी गरेको भए पनि बिरामीका आफन्तले भने त्यसलाई अस्वीकार गरेका छन् ।
अस्पतालले फागुन महिनादेखि मेडमिक्स फार्मेसीलाई मासिक १२ लाख रुपियाँ भाडा तिर्ने सर्तमा एउटा कोठा उपलव्ध गराएको हो । पछि फार्मेसीले भाडा तिर्न सक्ने नदेखेपछि भाडा घटाएर नौ लाख कायम गरेको छ । चर्को कोठाभाडा तिर्नुपर्ने भएकाले फार्मेसीले बिरामीलाई औषधि बिक्री गर्दा बढी मूल्य लिने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालकै कर्मचारीमाथि ठगी भएपछि घटना बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्