झोराहाटमा ‘बसाइँ’ सुरु, कहिलेसम्म चल्छ त ?

<span class='c1'>झोराहाटमा ‘बसाइँ’  सुरु,</span> <span class='c2'>कहिलेसम्म चल्छ त ?</span>

विराटनगर, १६ साउन ।
प्रवासी नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ ।
झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक साउन २० गतेसम्म जारी रहनेछ । युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको नाटकमा इलाम, संखुवासभा, मोरङलगायतका जिल्लाका कलाकारहरूले अभिनय गरेका छन् ।
नाटकको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सामाजिक विकृतिमाथिको तिखो प्रहार गरेको नाटकले सामाजिक रुपन्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बसाइँ उपन्यास कक्षा ११ को नेपाली विषयमा अध्यापन हँुदै आएको छ । कलाकारहरूलाई १५ दिनको प्रशिक्षणपछि नाटक मञ्चनका लागि तयार पारिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । ग्रामीण क्षेत्रमा पनि भाषा साहित्यसँगै रंगमञ्च स्थापित गराउन नाट्य समूहले काम गरिरहेको गुरागाईंले बताए । अनु श्रेष्ठ सहनिर्देशक रहेको नाटकमा दीक्षा चौधरी, मीना श्रेष्ठ, शिवराज विष्ट, प्रजिता श्रेष्ठ, प्रदीप सरदार, एलिजा विश्वकर्मा, लकेश राई, प्रविण मगर, सुनिल देवकोटा, यशोदा भट्टराई, विमल सम्बाहाम्फे, टीकाराज लावती, रुपेश खतिवडा र विनोद राईले अभिनय गरेका छन् । हरेक दिन साँझ ५ बजे नियमित शो हुनेछ भने बुकिङ शो पनि हुनेछ । विभिन्न विद्यालय र क्याम्पसहरूले अग्रिम बुकिङ गरेको अध्यक्ष गुरागाईंले जानकारी गराए । उनका अनुसार विद्यालय र क्याम्पसका लागि भने जुनसुकै समयमा पनि नाटक देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्