विराटनगरका ११ वटा पानी उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला

विराटनगरका ११ वटा पानी उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला

विराटनगर,१९ साउन ।   मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएको छ ।  शुद्ध पिउने पानी भनेर उद्योगबाट उत्पादन गरिएको प्रोशोधित पानीमै ‘कोलीफर्म’ भेटिएपछि मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएको हो । उद्योगले पानी प्रशोधन गर्दै उत्पादन गरेर जार र बोतलमा बिक्रीका लागि बजार सम्म पुर्‍याउने गरेका थिए । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेत्रृत्वमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका सरकारी निकायले गरेको संयुक्त अनुगमनका क्रममा पानीमा मानव स्वास्थ्यका लागि अति नै हानिकारक जीवाणु फेला परेको हो । सामाजिक विकास मन्त्रालयले विराटनगरमा शुक्रवार अनुगमनको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै अनुगमन गरिएका र ल्याब परीक्षणका लागि नमुना सङ्कलन गरिएका २० वटा पानी उद्योग मध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको जानकारी दिएको छ ।  तीन वटा उद्योगले उत्पादन गरेका पानी पिउन अयोग्य रहेको पाइएको छ । छ वटाले उत्पादन गरेको पानी पिउन योग्य भए पनि ती उद्योगले समेत कतिपय मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल सचेत गराएर मापदण्ड पूरा गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव गोपी घिमिरेले बताए ।

अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगले सरसफाइमा ध्यान नदिने गरेको, लापरबाही तरिकाबाट पानी उत्पादन गर्ने गरेको, सोडा तथा पोटाशको मात्रा नमिलाउने गरेको, अनुमति तथा नवीकरण विना नै उद्योग सञ्चालन गर्ने गरेको पाइएको घिमिरेको भनाइ छ ।

उनका अनुसार कतिपय पानी उद्योग गाई गोठबाटै सञ्चालित रहेको पनि फेला परेको थियो । कतिपयका उद्योगको बोरिङ र शौचालय सँगसँगै रहेको भेट्टाइएको घिमिरेले बताए ।  प्रशोधित पानीको अम्लियपना (पिएच) कम रहेको पाइएको थियो । सामान्यतया पानीको पिएच ६ देखि ८ दशमलव ५ हुनु पर्छ । अधिकांश उद्योगबाट उत्पादन गरिएको पानीमा प्रयोगको अन्तिम मिति र उत्पादन मिति समेत उल्लेख नगरेको पाइएको छ ।

मन्त्रालयले विराटनगर महानगरपालिका ५ को गङ्गा जल उद्योग, विराटनगर ४ को गोमा रानी जल उद्योग, विराटनगर ६ को पूजा फुड एन्ड्रोइड वेभराज प्राली, विराटनगर २ को तिरुपति जल उद्योग, विराटनगर १० को हाई मल वाटर इन्टष्ट्रिज, विराटनगर ११ को माउण्टेन वाटर, विराटनगर १३ को श्री जल उद्योग, विराटनगर ८ को शीतल जल उद्योग, विराटनगर १४ को जोनसन जल उद्योग, विराटनगर १२ को दिव्य श्री जल उद्योग र बुढीगंगा गाउँपालिका १ को शुभ जल उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । अनुगमन गरिएकामध्ये विराटनगर ५ को शान्ति जल उद्योग भने मापदण्ड अनुसार नै सञ्चालनमा रहेको र त्यहाँ कुनै पनि समस्या नपाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए ।

उनका अनुसार विराटनगर ७ को एसएसएस जल उद्योग, विराटनगर ५ को गुड लक, विराटनगर ८ को हाम्रो प्रयास जल उद्योग, विराटनगर ११ को पूर्वाञ्चल निर्मल जल उद्योग, विराटनगर ९ को मङ्गल वेभराज, विराटनगर १० को प्रजापति जल उद्योग, विराटनगर १५ को हुलास प्युरिफाईड, विराटनगर १२ को भूमि जल उद्योग समेतबाट उत्पादित पानीमा भने एउटा न एउटा समस्या भेटियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्