अब रक्सी खाएर माछा मार्न नपाइने

<span class='c1'>अब रक्सी खाएर</span> <span class='c2'>माछा मार्न नपाइने</span>

अछाम,३० साउन ।  अछाम जिल्लाको रामारोशन गाउँपालिकाले असला माछा संरक्षणका लागि कैलाशखोला र आसपासका शाखा खोलाहरुमा माछा मार्नका लागि नियम बनाएको छ ।खोलामा हुने अवैध माछा मार्ने कार्यलाई निरुत्साहित गर्न तथा असला माछा संरक्षणका लागि गाउँ कार्यपालिका बैठकबाट नियम बनाई कार्यान्वयनमा ल्याइएको हो । गाउँपालिकाको नियम अनुसार ८४ गेडी भएको जाल बाहेक अन्य जुनसुकै प्रक्रियाबाट माछा मारेमा अवैध ठहर गरिने छ र उसलाई कारबाही हुनेछ ।असला जातको माछा घट्दै गएको र खोलाहरुमा अवैध रुपमा माछा मार्ने क्रम बढेको अवस्थामा गाउँपालिकाले नयाँ नियम नै बनाएर माछा मार्ने कार्यलाई व्यवस्थित गर्न लागेको गाउँपालिका अध्यक्ष झंकर साउद भास्कले बताउनुभयो ।

गाउँपालिकाले नियम पारित गरिसकेको र सूचना निकालेरै जाल दर्ता र माछा मार्ने अनुमति पत्रका लागि दरखास्त आह्वान समेत गरिसकेको अध्यक्ष साउदको भनाई छ । जाल दर्ता तथा माछा मार्ने अनुमतिका लागि स्थानीयले श्रावण २५ देखि भाद्र ८ गतेसम्म आवेदन दिन सक्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिबहादुर साउदले बताउनुभयो ।

अबका दिनहरुमा जाल दर्ता गरेका स्थानीयले र माछा मार्ने अनुमति लिएका स्थानीयले मात्रै माछा मार्न पाउने र खोलाहरुमा कुनै पनि विषादी, जैविक विषादी, करेण्ट गोला आदी प्रयोग गरेर माछा मार्न नपाइने गाउँपालिकाले जनाएको छ । नियम विपरित माछा मारेको पाइएमा गाउँपालिकाको नियमअनुसार कारबाहि गरिने समेत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले माछा मार्नेको योग्यता पनि तोकेको छ । गाउँपालिकाले निकालेको सूचना अनुसार १८ वर्ष देखि ६० वर्ष ननाघेकाले मात्रै माछा मार्न पाउनेछन् ।
त्यस्तै माछा मार्ने व्यक्ति शारिरीक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्ने छ । गाउँपालिकाले रक्सी खाने लत लागेका व्यक्तिले माछा मार्न नपाउने जनाएको छ ।नियममा जाल दर्ता नगरी र अनुमति नलिइ माछा मारेको पाइएमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गराइने र त्यसपछि पनि अवैध रुपमा माछा मारेको पाइएमा प्रत्यक पटक दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्