कोफी अन्नानको निधन, विश्वभरबाट शोक व्यक्त

कोफी अन्नानको निधन, विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए ।

घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ ।

संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन् ।
गुटेर्रेसले भनेका छन्, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो ।” उनले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पुर्याएका थिए ।

“अन्य साथीहरूलाई जस्तै मैले कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा मलाई गर्वको महशुस हुन्छ ।”

यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताए । अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गरेको राष्ट्रपति नानाले स्मरण गरेका छन् ।

अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गरेका थिए ।

फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गरेको बताएका थिए ।

“आज उहाँको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो सङ्कल्प गर्छौँ कि आगामी दिनमा उहाँले देखाएको बाटो र मूल्यमान्यताप्रति इमान्दार रूपले काम गर्नेर्छौँ । हाम्रो लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।”

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा भएको बताए ।

 “शनिबार राष्ट्रसङ्घ र विश्वले आफ्नो महान व्यक्तिलाई गुमाएको छ,” स्टोलटेनबर्गले भने ।

राष्ट्रसङ्घका मानबअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले पनि अन्नानको निधनबाट आफु स्तब्ध भएको बताए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार नै पूर्व राष्ट्रसंघ प्रमुख अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई एक शोक सन्देश पठाएका छन् ।

बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन्, “नोबेल पुरस्कार विजेता व्यक्तित्व तथा राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधनबाट हामी अत्यन्त मर्माहित भएका छौँ । विश्वले एक उत्कृष्ठ अफ्रिकी कूटनीतिज्ञ र मानव कल्याणका लागि काम गर्ने विश्व नेता मात्र होइन अन्तराष्ट्रिय शान्ति र सुरक्षाका लागि विवेकको नेतृत्वलाई पनि गुमाएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्