विराटनगरस्थित जोगवनी नाकाबाट ३६ करोड बढीको आलु र गोलभेँडा भारतबाट आयात

विराटनगरस्थित जोगवनी नाकाबाट ३६ करोड बढीको आलु र गोलभेँडा भारतबाट आयात

विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगायत पूर्वाञ्चलका विभिन्न बजारमा खपत हुने गरेको व्यवसायी बताउँछन् । खास गरी यस क्षेत्रमा दैनिक रूपमा लाग्ने हटियामा भारतबाट पैठारी भएर आउने आलु र गोलभेँडा खपत हुने गर्दछ । यसरी भारतबाट आउने आलु र गोलभेँडा पूर्वाञ्चलको धनकुटा, तेह्रथुम, सङ्खुवासभा जस्ता पहाडी जिल्लाका सदरमुकाम समेत पुग्ने गरेको विराटनगरका आलु व्यवसायी सुरज गुप्ता बताउँछन् ।
यस क्षेत्रमा तरकारीका रूपमा दैनिक खपत हुने आलुको ७० प्रतिशत हिस्सा भारतलगायतका विदेशबाट आयातित आलुले धानेको र बाँकी ३० प्रतिशत हिस्सा स्वदेशी आलुले धन्ने गरेको व्यवसायीको दाबी छ । नेपालमा भारत पछि भुटान र बङ्गलादेशबाट पनि आलु भित्रिने गर्दछ । 
नेपालमा उत्पादित आलुमध्ये मकवानपुरको आलु निकै स्वादिलो भएकाले बजारमा यसको निकै माग छ तर यो आलु साउनसम्म सकिने व्यवसायी बताउँछन् ।
नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादन हुने आलु निकै स्वादिलो छ तर यो महेन्द्र राजमार्ग आसपासकै बजारमा खपत हुने र विराटनगरसम्म आइनपुग्ने अर्का व्यवसायी पशुपति भगत बताउनुहुन्छ । साउन अन्तिम सातादेखि नेपालमा भुटानको आलु भित्रने र यो कात्तिकसम्म चल्ने गरेको व्यवसायी बताउँछन् ।
पूर्वाञ्चलका १६ जिल्लामा ७० हजार ५२८ हेक्टरमा आलु खेती हुने र त्यसबाट नौ लाख ५१ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ तर यो उत्पादन बजारमा हुने मागको तुलनामा निकै कम हुने व्यवसायीको भनाइ छ ।
त्यस्तै दैनिक अचारका रूपमा प्रयोग हुने गोलभेँडाको उत्पादन पूर्वी पहाडी जिल्लामा निकै राम्रो रहे पनि यो मौसमी उत्पादन मात्र रहेकाले अन्य समयमा भारतीय गोलभेँडा नै खपत हुने गर्दछ ।
नेपालमा उत्पादित गोलभेँडा तीन महिना मात्र बजारमा रहन्छ । बाँकी अवधिमा नेपाली उपभोक्ता भारतकै गोलभेँडामा निर्भर हुनुपर्ने विराटनगरस्थित गुद्री बजारका गोलभेँडाका थोक बिक्रेता गौरीशङ्कर भगत बताउनुहुन्छ । नेपाली गोलभेँडा जेठदेखि भदौसम्म पाइने र असोजदेखि वैशाखको अवधि भारतीय गोलभेँडा नै ल्याउनुपर्ने बाध्यता रहेको भगतको भनाइ छ ।
पूर्वाञ्चल क्षेत्रमा पाँच हजार ७१८ हेक्टर क्षेत्रमा गोलभेँडाको खेती हुने र जसबाट वार्षिक एक लाख २९ हजार मेट्रिकटनभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ तर यो उत्पादनले स्थानीय बजारको मागलाई धान्न सकेको देखिँदैन । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्