इलामका चिया श्रमिकले ज्याला पाएनन्

इलामका चिया श्रमिकले ज्याला पाएनन्

कोकिला ढकाल

इलाम, भदौ  ९ गते । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिएलगत्तै इलामका चिया व्यवसायी श्रमिकलाई तलब दिने विषयमा ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राजपत्रमा श्रमिकको नयाँ ज्यालादर प्रकाशित भएकोमा भदौको पहिलो सातासम्म पनि श्रमिकले तलब पाएका छैनन् । झापामा चिया उद्योगी व्यवसायीले बगान तथा कारखानमा कार्यरत श्रमिकलाई नयाँ ज्याला नदिने बताएपछि इलामका अर्थोडक्स् चिया उत्पादक उद्योगी व्यवसायीले पनि तत्कालका लागि झापाको स्थिति हेरेको बताएका छन् ।
सूर्योदय नगरपालिकामा रहेको व्यवसायीको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले बढेको ज्याला दिँदा उद्योग नै बन्द हुने अवस्था आएको भन्दै प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको एसोसिएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो । झापाका चिया व्यवसायीले त सरकारको निर्णयको विरोध नै गरेका छन्, हामीले भने तत्काललाई पर्खन र सरकारको निर्णयलाई केही हेरफेर गर्न आग्रह गर्ने निर्णय गरेका छौँ, कट्टेलले भन्नुभयो ।
अहिले एक किलो तयारी चिया बनाएर भारतको कोलकाता पु¥याई बिक्री गर्दा प्रतिकिलो ४० रुपियाँ घाटा रहेको सचिव कट्टेलको दाबी छ । उत्पादकका अनुसार प्रतिकिलो ४० रुपियाँका दरले किसानबाट लिएको हरियो पत्ती तयारी गर्दा ३५० रुपियाँ खर्च हुन्छ, यसलाई बिक्रीका लागि भारतको कोलकाता पु¥याउँदाका ढुवानी, भन्सारलगायतको खर्च थप ४० रुपियाँ लाग्छ । कोलकतामा यहाँको चिया प्रतिकिलो दुई सयदेखि २५० रुपियाँ प्रतिकिलो भारतीय रुपियाँका दरले बिक्री हुन्छ, कट्टेलले भन्नुभयो, अहिले नै श्रमिकलाई दिने ज्याला र अन्य व्यवस्थापन खर्च गर्दा एक किलो चियामा उल्टै ४० रुपियाँ घाटा छ ।

सरकारले लागू गरेको ऐन कार्यान्वयन गर्नुपर्दा पनि उद्योगको विषयमा पनि सरकारले केही सहुलियत दिनुपर्छ भन्ने हाम्रो माग हो, कट्टेलले भन्नुभयो । एसोसिएसनमा सूर्योदय नरपालिकाका ५२ वटा ठूला, मझौला तथा साना उद्योग सङ्गठित छन् । यी सबै उद्योगमा मजदुर भने सङ्गठित रूपमा भने छैनन् ।
मजदुरको सङ्गठन रहेको इलाम टी प्रोड्युसर्स्ले भने ढिलो चाँडो श्रमिकको तोकिएको ज्याला दिनुपर्छ भन्नेमा सचेत रहेको जनाएको छ । ‘इलाम टी’का प्रमुख ओम काफ्लेले सबै उद्योग सङ्गठित भएको र एकै किसिमको ज्याला श्रमिकलाई दिनुपर्छ भन्ने विषयले यो पटक श्रमिकको तलब दिन ढिलो भएको बताउनुभयो ।
सधै नयाँ महिना सुरु भएको दुई÷तीन गतेभित्र कारखानाले श्रमिकलाई तलब दिने गरेको थियो, यो महिना भने पहिलो साता बित्दा पनि इलाम टीले पनि तलब दिएको छैन । १० गतेभित्र तलब दिइसक्छौँ, अहिले जति दिए पनि श्रमिकसँग राजपत्रमा भएको तलब दिने र श्रमिकले आन्दोलन नगर्ने सहमति हामी बीच यसअघि नै भएको छ, काफ्लेले भन्नुभयो । झापाका सीटीसी उद्योगले बढेको नयाँ ज्याला दर नदिने भनेपछि इलामका अर्थोडक्स उद्योगीले केही नभने पनि झापाको स्थिति हेरेरै बसेको काफ्लेले बताउनुभयो । सरकारले गत साउन ३१ गते चिया बगानका श्रमिकको आधारभूत पारिश्रमिक मासिक छ हजार ४६९, महँगी भत्ता चार हजार ३१२ गरी मासिक दस हजार सात ७८१ रुपियाँ तोकेको छ । यस्तै चिया श्रमिकको आधारभूत दैनिक २३१ र महँगी भत्ता १५४ गरी ३८५ रुपियाँ तोकेको छ । सरकारले चिया श्रमिकको प्रतिघण्टा आधारभूत ज्याला ३१ र महँगी भत्ता २० गरी प्रतिघण्टा ५१ रुपियाँ तोकेको छ ।
यसबाहेक यो पारिश्रमिकको अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ र प्रचलित कानुन अनुसार श्रमिकले पाउने सञ्चय कोष र उपदान समेत दिनुपर्ने व्यवस्था राजपत्रमा उल्लेख छ ।
साउनको तलब हेरेरमात्र काम गर्ने अथवा आन्दोलनको तयारी गर्ने भन्ने निर्णय हुने अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले बताउनुभयो । केही उद्योगले राजपत्रमै उल्लेख भएको ज्याला दिने सम्झौता यसअघि नै गरेका छन्, तर उनीहरूलाई पनि त्यो ज्याला नदिन अरू उद्योगीले दबाब दिएको बुझिएको छ, रेग्मीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्