काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् ।
शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ तिनीहरुसँग मिल्न नहुने बताए ।
उनले प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताए । उनले भने,’म चिप्लो कुरामा चिप्लिए र अहिले राजनीतिक अलिक जटिल हुँदै गएको कुरा मलाई महसुश भएको छ । हामी सबैले पनि आफूपनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ,तिनीहरु मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन । यो कुराको चेतना आजको आवश्यकता हो । यसो भन्दा प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । विल्कुल होइन अहिले मैंले प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेवल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु । ’
उनले समाजमा बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको बताए । पार्टी भित्रै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने कसैको मनसाय भएको भन्दै त्यसलाई सफल हुन नदिने उनको भनाई छ । उनले भने,‘हामी आज देख्छौ समाजमा अलि बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको छ । एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामी भित्र नै कसैको मनसाय त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’