जापान भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

जापान भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

टोकियो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ ।

मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताउनुभयो । हराएका व्यक्तिको सूची अधिकारीहरुसँग छैन, सबै भेटिएका छन्, योसिहिडेले भन्नुभयो ।

करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्द बढी व्यक्तिलाई सहयोग गरिरहेका छन् । गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो ।

मृत्यु भएका अधिकांश व्यक्ति सानो ग्रामीण इलाका आट्सुमाका रहेका छन् । करिब ६।६ म्याग्नीच्यूडको भूकम्पका कारण माथिबाट बगेको पहिरोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो ।

मुख्य सचिव सुगाले स्थानीय जनतालाई आफ्ना घरहरुमा फिर्ता ल्याउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने मौसम भविष्यवाणी अझै पनि प्राप्त भइरहेकाले जनधनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको संवाददाताहरुलाई बताउनुभयो ।

प्राकृतिक प्रकोपका कारण लगातार जनधनको ठूलो क्षति बेहोरेको जापानमा पछिल्लो भूकम्पले थप समस्या सिर्जना गरेको थियो । जापानको पश्चिमी क्षेत्रमा जेबी नामको आँधीले ११ जनाको मृत्यु हुनुका साथै क्षेत्रीय विमानस्थल बन्द गर्नु परेको थियो ।

दोस्रो कार्यकालका लागि पार्टीभित्र चुनावी प्रचार गरिरहनुभएका जापानका प्रधानमन्त्री शिन्जो आबेले सरकारले जनताको सुरक्षाका लागि हरसम्भव प्रयत्न गरिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्