पत्नी वियोगमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ केही दिनका लागि जेलमुक्त

पत्नी वियोगमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ केही दिनका लागि जेलमुक्त

इस्लामावाद, भदौ २७ । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ ।

सरिफकी पत्नी कुलसूम नवाजको मंगलबार लन्डनमा अर्बुधरोगका कारण निधन भएको थियो ।

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज सरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ ।

पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए ।

सरिफ र उनकी छोरी मरियमलाई हवाईजहाजमा राखेर लाहोर पुर्‍याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

उनीहरु दुवैलाई १२ घन्टाका लागि छाडिएको भएपनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउनसक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए ।

स्थानीय सन्चारमाध्यमले दाहसंस्कार शुक्रबारमात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज सरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो ।

महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

नवाज सरिफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्