एप्पलले लन्च गरेका तीन नयाँ आइफोनमा यस्ता छन् विशेषता

एप्पलले लन्च गरेका तीन नयाँ आइफोनमा यस्ता छन् विशेषता

एजेन्सी । बुधबार एप्पलले तीनवटा नयाँ आइफोन मोडलहरु सार्वजनिक गरेको छ । फरक फरक मूल्य र भिन्दाभिन्दै फिचर भएका आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर अब केही समयमै बिक्रीका लागि बजार भित्रिने कम्पनीले बताएको छ ।

तीनमध्ये पहिलो आइफोन एक्सएस यसअघिको आइफोन एक्ससँग धेरै मिल्दोजुल्दो रहेको बताइएको छ । तरपनि यसमा नयाँ आधुनिक प्रोसेसर ए १२ बायोनिक प्रयोग भएको हुँदा स्क्रिन अलिक बढी कलरफुल र क्यामेरा प्रोसेसिङमा पनि ठूलो सुधार देख्न सकिने बताइएको छ । प्राइमर रियर क्यामरा र सेकेन्डरी टेलिफोटो लेन्स दुवै १२ एमपीको छ र फ्रन्ट क्यामरा चाहिँ ७ एमपीको छ । त्यसैगरी यी नयाँ फोनका क्यामरामा ब्याकग्राउन्डलाई आफूले चाहे अनुसारले ब्लर गराउन मिल्ने फिचर पनि रहेको छ जुन यसअघिका आइफोनमा उपलब्ध थिएन । त्यसैगरी यसको स्पिकर पनि धेरै स्टेरियोको भएकाले ठूलो आवाज दिने बताइएको छ । यसको डिस्प्ले भने ५.८ इन्चको रहेको छ । यस आकर्षक फोनको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुने कम्पनीको भनाइ छ । मेमोरी अनुसार सबैभन्दा बढी, ५१२ जीबीको आइफोन एक्सएसलाई १३४९ डलर पर्छ भने त्यति नै जीबीको म्याक्सको मूल्य चाहिँ १,४४९ रहेको छ । 

तरपनि बुधबारको कार्यक्रममा ‘आइफोन एक्सएस म्याक्स’ ले सबैभन्दा बढी ध्यान केन्द्रित गराएको हो । एप्पलले लन्च गरेका स्मार्टफोनहरु मध्ये सबैभन्दा ठूलो स्क्रिन भएको यस आइफोनको डिस्प्ले मात्र ६.५ इन्चको छ । यस्तोमा ठूलो फोन मन पराउने ग्राहकहरु अत्याधिक खुसी हुने बताइएको हो । एउटै प्रोसेसर प्रयोग भएकाले यसका भित्री भागहरु एक्सएस जस्तै भएपनि यसको ब्याट्रीले भने धेरैको मन जित्ने अपेक्षा गरिएको हो । यसअघिको आइफोन एक्सको २८०० एमएएच ब्याट्रि भन्दा यसको ब्याट्री १ घण्टा ५० मिनेट लामो समयसम्म टिक्ने बताइएको छ । आइफोन एक्सएसको ब्याट्रि पावर चाहिँ पहिलेको आइफोन भन्दा तीस मिनेट बढी चल्ने कम्पनीले बताएको हो । यसका साथै पहिलोपटक आइफोनले डुअल सिमको फिचर पनि ल्याएको छ ।

दुवैमा ए१२ बायोनिक चिप प्रयोग गरिएकाले तीस प्रतिशतले फोन बुस्ट भएको हुँदा ज्यादै छिटो काम गर्ने बताइएको छ । यिनीहरु सुनौलो र खैरो रङमा उपलब्ध छन् । यसको मूल्य भने १,०९९ डलरबाट सुरु गरिएको छ जसलाई अहिलेसम्मकै महङ्गो आइफोन बताइएको हो । पावरको युसेजलाई ५० प्रतिशतले कम गराएपनि नयाँ आइफोनको र्यामप्रति भने अझै असन्तुष्टि जनाइएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका हुन् । एप्पलले र्यामको क्षमता तीनबाट ४ जीबी पुर्याएपनि अझै धेरैवटा एप राख्न समस्या हुने बताइएको छ । उता कम्पनीका प्रतिस्पर्धीहरुले भने यसै पक्षको सुधारमा जोड दिइरहेको पाइएको छ । यसै वर्ष लन्च गरिएका एन्ड्रोइड फोनहरुमा ६ देखि ८ जीबीको र्याम राखिएको थियो । त्यसैगरी फेस आइडी पनि आइफोन एक्सएस र म्याक्समा अझ चाँडो चल्ने बताइएको छ भने छिटो चार्ज गर्न सक्ने वायरलेस चार्जिङलाई पनि अर्को विशेषता मानिएको हो ।

अन्त्यमा आइफोन एक्सआर भने तीन मध्येको सबैभन्दा सस्तो फोन हो । यसको मूल्य केबल ७४९ डलरबाट सुरु हुने बताइएको छ । अन्य दुईको तुलनामा यसको प्रदर्शनमा केही कमी देखिएपनि भित्री प्रोसेसर भने एक्सएस र म्याक्स कै जस्तो प्रयोग भएको छ । तर डुअल क्यामरा नभएको यस फोनको एलसीडी स्क्रिन अन्य दुई जस्तो कलरफुल र उज्यालो देखिँदैन । एक्सएस र म्याक्सलाई हेरेर यो फोन त्यति आकर्षक नदेखिएपनि मूल्य अनुसार यसले पनि धेरै ग्राहक पाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । यसका साथै यो फोन पहेँलो, रातो, नीलो लगायत पाँच छुट्टाछुट्टै रङमा उपलब्ध गराइने बताइएको छ । यसबाहेक सबै फोनहरु तीन मिटरसम्मको पानीमा डुब्दा पनि केही नहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्