ड्रोनले सामान ओसार्न थालेपछि चीनका पहाडी समुदायको जीवनमा ठूलो बदलाव

ड्रोनले सामान ओसार्न थालेपछि चीनका पहाडी समुदायको जीवनमा ठूलो बदलाव

एजेन्सी । चीनको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ग्वेजौ प्रदेशस्थित तीस हजार मानिसहरुको बस्ती रहेको गाउँमा आधुनिक ड्रोनको प्रयोग बढेसँगै स्थानीयको जीवनमा ठूलो बदलाव आएको हो ।

चिनियाँ राष्ट्रिय संचार सीजीटिएनका अनुसार दुर्गम पहाडी भेगमा रहेको सो ठाउँमा केही समय अघिसम्म चिठी लगायत पार्सलहरु पुर्याउन लामो दुरीको कठिन यात्रा गर्नुपर्दथ्यो तर अहिले भने यस कामका लागि ड्रोन प्रयोग गर्न थालिएको छ ।

त्यसै क्षेत्रमा अवस्थित पोस्ट अफिसका कर्मचारी वाङ ह्वाका अनुसार दैनिक गाउँवासीहरुका लागि तीन सय भन्दा बढी पत्र र सामानहरु आउने गर्दछन् । यस्तोमा उनी ड्रोन प्रयोग गर्नुअघि सम्म भिरालो बाटो हुँदै मोटरसाइकलमा १०० किलोमिटरको कठिन यात्रा गर्न बाध्य थिए । उनले दैनिक ४० केजी बराबरको सामान बोकेर लैजाने गर्दथे तर स्थानीयका मूल्यवान् सामग्री ध्यानपूर्वक पुर्याउने गरेपनि कतिपय पार्सलहरुमा फलफुल लगायत चाँडै बिग्रिने खानेकुरा हुने र कुनैबेला चाहिँ औषधि, आइडी कार्ड लगायतका आपत्कालिन सामानहरु पनि पुर्याउनु पर्ने हुँदा विशेषगरी खराब मौसमको समयमा आफूलाई धेरै समय लाग्ने हुनाले मानिसहरु समस्यामा पर्ने गरेको गुनासो गर्दथे । 

तर यसै वर्ष आर एण्ड डी कम्पनीले प्रदान गरेको ड्रोन प्रयोग गर्न सुरु गरिएपछि  वाङको काम धेरै सहज भएको हो । अहिले उनी सबैको घरघर पुग्दैनन् र केबल ड्रोनलाई चलाउने काम मात्र गर्ने गर्दछन् । यसरी पहिले भन्दा पूर्ण रुपमा फरक काम गर्नु परिरहेपनि यो तरिका धेरै सुविधायुक्त भएको उनी बताउँछन् । अहिले उनी ड्रोनकै मुनिपट्टी सामान र चिठीहरु राखेर त्यसको कोड स्क्यान गराइ ब्याट्रि निरीक्षण गरेर स्थानीयको घर पठाउने गर्दछन् । पूर्ण रुपमा चार्ज भएको ड्राने तीस मिनेट ५ केजीसम्मको भार बोकेर उड्न सक्दछ । ड्रोनको त्यति क्षमता नै गाउँसम्म सामानहरु ओसार्न पर्याप्त रहेको उनी बताउँछन् ।

त्यसकारण अहिले उनी ज्यादै भारी सामान मात्र मोटरसाइकलमा आफैँले यात्रा गरि पुर्याउने गर्दछन् । आफूलाई दिनभर लाग्ने काम ड्रोनले घण्टाभरमै सक्काउने गरेको उनले खुसी हुँदै बताएका हुन् । उनले भने, ‘एकपटक एक युवतीले आफ्नी हजुरआमाका लागि एकदमै जरुरी औषधि पठाएकी थिइन् जसलाई मोटरसाइकलमा पुर्याउँदा तीन घण्टाको समय लाग्दथ्यो । तर ड्रोनको मद्दतले हामीले त्यसलाई २० मिनेटमै पुग्न सम्भव गराएका हौँ । उनका अनुसार पहिले गाउँवासीहरु सो उपकरणलाई देखेर अचम्म मान्ने गर्दथे र आफ्नो काम छाडी छाडी हेर्न आउँथे । तर पछिल्लो समय ड्रोनको प्रयोग सामान्य भइसकेकाले अहिले भने सबै मानिस सो मेशिनसँग परिचत भइसकेका छन् । यसरी एउटा सानो उपकरणले ग्रामिण वस्तीको जीवनमा धेरै ठूलो परिवर्तन ल्याएको हो । सो कम्पनीले अहिले अरु पनि यस्तै दुर्गम क्षेत्रमा यो तरिका अपनाउने प्रयास गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्