विराटनगरमै भेटियो जंगली धान, संरक्षणकोलागि जीन बैंक लगियो

विराटनगरमै भेटियो जंगली धान, संरक्षणकोलागि जीन बैंक लगियो

विराटनगर, २० असोज ।
विराटनगर महानगरपालिकामा हराउन लागेको जंगली धान फेला परेपछि बैज्ञानिकहरुले त्यसको उद्दार गरेका छन् । जंगली धान पहिला कोशी टप्पुमा पाउँदै आएकोमा त्यहाँको धान हराएपछि पुर्बमा जंगली धान पाउनै मुस्किल थियो । तर बिराटनगर महानगरपालिका वडा नम्बर १९ को बैजनाथपुरमा जंगली धानको ३ प्रजाती फेला परेको हो । बैजनाथपुरको मिलनचोकमा रहेको सार्बजनिक जग्गामा हराउने क्रममा रहेको जंगली धान भेटिएको स्थानीय बिबेकानन्द झाले जानकारी गराएपछि राष्ट्रिय बिज बैंकबाट आएको बैज्ञानिकहरुको टोलीले भेटिएको जंगली धानको उद्दार गरेका हुन ।
अबको एक बर्षमा हराउने अबस्थामा पुगेको ३ जातको धान संकलन गरी नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को राष्ट्रिय जिन बैंकमा लगिएको वरिष्ठ बैज्ञानिक डा.बालकृष्ण जोसीले जानकारी दिए । उनका अनुसार, तिनवटा जातहरु ओराईजा निभारा, ओराईजा रुफी पोगन र लिर्सिया धानका जातहरुको उद्दार गरिएको हो । यस अघि सुनसरीको कोशीटप्पुमा पाईएको धान भने ओराईजा निभारा र ओराईजा रुफी पोगन दुई प्रजाती मात्र फेला परेकोमा थप अर्को जाती लिर्सिया मिलनचोकमा भेटिएको डा जोसीले सुनाए । यो फेला परेको जंगली धान अहिले हामीले खानाको रुपमा प्रयोग गरिने धानको पुर्खा भएको डा. जोसीले बताए ।
यसको फाईदा
यस अघि कोशीटप्पुमा पाईँदै आएको जंगली धान बिगत २ बर्षदेखि हराएको छ । यो बिराटनगरको मिलनचोकमा भेटिएको धानको जात पनि अबको एक बर्षमा हराउने अबस्थाको रहेको पाईएको छ । नेपालको पस्चिमी जिल्लाहरुमा केही बाक्लै भेटिने गरेको भएपनि पुर्बमा जनकपुर र बिराटनगरमा मात्र पाईएको वरिष्ठ बैज्ञानिक जोसीको भनाई छ । विराटनगरमा करिब एक रोपनीमा यो धान भेटिएको हो । पस्चिममा चोखो धानको रुपमा समेत यो धानलाई प्रयोग गर्ने गरेको पाईन्छ । जंगली धान र खेती गरिने धान बिचको प्राकृतिक रुपमा परागशेचनको माध्यामबाट हाईब्रिड स्वाम विकास भएकोले त्यो हाईब्रिड स्वाम ठिमाहाको रुपमा देखा पर्ने र धेरै फल्ने तथा बाला ठुला हाल्ने लगायतका फाईदा हुने विज्ञ बताउँछन् । यस्ता जंगली धानमा रोगसँग लड्ने गुण भएको जिन हुने, धानमा डडुवा रोग लाग्दा यसबाट ट्रान्सफर गर्न सकिने बिज्ञ तर्क छ ।
नयाँ जातको धान विकास गर्नको लागि जंगली धान र अन्य स्थानीय जातको धान नभई नहुने बरिष्ठ बैज्ञानिक दीपा सिंहले जानकारी दिईन् । अहिले हामीले खाई रहेको धान प्राकृतिक क्रसिङबाट आएको हो । स्थानीय जातका धानहरु हराउँदै जान थालेको अबस्थामा स्थानीय जातको संरक्षणसँगै यस्ता जंगली धानहरुको पनि संरक्षणको खाँचो रहेको बैज्ञानिक सिंहले बताईन् ।
स्थानीय जातको संरक्षण भएन
स्थानीय रुपमा पाईने हरेक बालीको स्थानीय जात हराउँदै जान थालेको छ । लोप हुन लागेका स्थानीय हरेक बालीको संरक्षणमा कोही पनि लागेको देखिँदैन । तर स्थानीय तह, प्रादेशिक संरचनाको विकास भएको अबस्थामा स्थानीय जातको धान संरक्षणका लागि स्थानीय तह लाग्नु पर्ने बैज्ञानिकहरु बताउँछन् । प्रादेशिक सरकारले नितीगत तहबाट नै काम थाल्नु पर्ने वरिष्ठ बैज्ञानिक जोसीले बताए । यदी पुर्बमा पाईने स्थानीय जातको संरक्षणको लागि जुनसुकै जातको जिन बैंकले संरक्षण गर्ने बैज्ञानिक जोसी बताउँछन् । उनले त्यस्तो स्थानीय जात भेटिए जिन बैंकलाई संकलन गरि पठाउने वा जिन बैंकलाई खबर गर्न आग्रह गरे ।
विश्वमा पाईने २२ जात मध्य ४ जात नेपालमा
स्थानीय जातको संरक्षण गरेर मात्र नहुने र नयाँ जातको धान विकास गर्नको लागि जंगली धान र अन्य स्थानीय जातको धान नभई नहुने बिज्ञहरुको भनाई छ । विश्वमा २२ जातका जंगली धानहरु फेला परेको छ । जसमा नेपालमा ४ जातको जंगली धान देखिएको छ । त्यो मध्य जंगली धानको तीन जात विराटनगरको बैजनाथपुरमा रहेको मिलनचोकमा पाईएको हो । विराटनगरमा जंगली धान फेला परेपछि आएको राष्ट्रिय आणुवंशिक श्रोत केन्द्र जीन बैंकबाट वरिष्ठ बैज्ञानिक डा बालकृष्ण जोसी, बरिष्ठ बैज्ञानिक दीपा सिंह र वरिष्ठ अधिकृत सुरेन्द्र श्रेष्ठ सहित आएको बैज्ञानिकहरुले तीन जातको जंगली धान भएको पुष्टी भएपछि उद्दार गरेको थियो । उद्दार गरिएको धानको संरक्षणको लागि बर्जु ताल र काशीटप्पु क्षेत्रमा संरक्षण गरिने बैज्ञानिक जोसीले जानकारी दिए ।
यी जात स्थानीय
पछिल्लो समय स्थानीय धानका जातहरु हराउँदै गएकोमा कृषि विज्ञ चिन्तित छन् । तर स्थानीय तह कार्यान्वयनमा गएपछि भने स्थानीय जातका बालीको संरक्षण हुन्छ की भन्ने केही झिनो आशा भने पालेका छन् । पुर्बमा पाईने स्थानीय जातका धानहरुमा बिरिङ फुल, कालानिमक, ललका बास्मती सहित बासमती धानका ४–५ वटा प्रजाती, थारु समुदायमा बढी रुचाईएको अनधि लोकल धान रहेको कृषि विज्ञ डा राजेन्द्र उप्रेतीले बताए । तराई तिर हराई सकेको केही बासमती धानहरु पनि संरक्षण्को लागि पहल गर्नुपर्ने अबस्थाको रहेको उप्रेतीले बताए । अहिले देखिएका धानमा रातो वास्मती, काला निमक, कालो बास्मती, अट्टे जर्नेली जस्ता धान महँगो हुने भएकोले किसानलाई पनि आर्थिक उपार्जनमा सहज हुने र मुल्य पनि बढी पाउने उनको तर्क छ । स्थानीय धानका जात मंसिरमा गएर पसाउने भएकोले ति धानहरु भदौमा रोपेपनि हुने उप्रेती बताउँछन् । यसरी रोपिएको धान प्रति बिगाहा ३ टनसम्मको खाद्यान्न फलाउन सकिने कृषि विज्ञको तर्क छ ।
कतिपय जातहरुमा जिन्क बढी पाउने, प्रोटिन बढी हुने हुन्छ । स्थानीय धानका जातहरु कुनै चाडसँग जोडिएर, संस्कृतीसँग पनि जोडेर खाईने गरेकोल पनि स्थानीय जातका धानहरु कहिँ कतै संरक्षण भईरहेको उप्रेतीले सुनाए । धानको एसआरआई प्रबिधिमा पिएचडी गरेका उप्रतीले स्थानीय जातको धानलाई क्यास गरेर अन्तराष्ट्रिय बजारसम्म लगेर बेच्न सकिने हो भने प्रसस्तै आम्दानी गर्न सक्ने सुनाए । अहिले पनि सिराहा सप्तरीमा बेहुली धान पाउँछ । धनकुटामा अहिले पनि जर्नेली धानको खोती हुने गरेको, झापा, मोरङ र सुनसरीमा ललका बासमती धानको खेती हुँदै आएको र काला निमक धान पनि खेती हुँदै आएको उनको भनाई छ । (प्रस्तुती :सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्