कटहरीकाे जीवन विकासलाई जेनेभामा अन्तर्राष्ट्रिय पुरस्कार

कटहरीकाे जीवन विकासलाई जेनेभामा अन्तर्राष्ट्रिय पुरस्कार

विराटनगर, २६ असाेज ।  कटहरीमा रहेर देशका धेरै स्थानमा सामाजिक कार्य गर्दै आएको जीवन विकास समाजले अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्ने भएको छ । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गर्न जीवन विकास समाजका पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको हो ।
मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न लागेको हो ।
जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोह बीच अक्टोबर १७ तारिखमा स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । पुरस्कार ग्रहण गर्न समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह–कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभा प्रस्थान गरेका हुन । टोलीलाई एक औपचारिक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ ।
पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक विद्यालय, बाल शिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नव विहानी कार्यक्रम मार्फत सहयोग गर्दै आएको वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले बताए । समाजको कामले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुगेकोले अन्तर्राष्ट्रिस्तरमै पुरस्कृत हुने अवसर पाएको बताइएको छ ।
समाजले विपन्न समुदायका लागि लघुवित्त र आठ जिल्लामा सामाजिक उन्नयनका कार्यक्रम संचालन गर्दै आएको छ । यसैबीच समाजले शुक्रबार नै एक कार्यक्रमबीच कटहरी प्रहरी कार्यालयलाई कम्प्युटर, प्रिन्टर तथा डिजिटल क्यामेरा सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्