सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैँकाे बेला श्रद्धालु भक्तजनको ठूलो घुइँचो

सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैँकाे बेला श्रद्धालु भक्तजनको ठूलो घुइँचो

सप्तरी असोज ३१ । शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा दशैँकाे बेला श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ ।

घटस्थापनादेखि क्रमशः बढेको दर्शनार्थीको भीड मंगलबार फूलपातीका दिन अत्याधिक वृद्धि भएको पीठाधीश महाकान्त ठाकुरले बताए । महाअष्टमीका दिन पनि बलि चढाउने पूजा गर्ने भक्तजनकाे भीड अझ बढ्ने उनकाे भनाइ छ ।

 

मनोकामना पूरा हुने विश्वासका साथ नेपालका अतिरिक्त भारतका दिल्ली, कलकत्ता, पटनालगायत स्थानबाट दर्शनार्थी पूजाका लागि आउने गरेको उनले बताए ।

छिन्नमस्ता भगवती संरक्षण सम्बद्र्धन समितिका सचिव भोगेन्द्रनारायण झाले म‌ंगलबार मात्र दुई हजारभन्दा बढी पशुपंक्षीकाे बलि दिइएको बताए । उनका अनुसार मनोकामना पूरा भएपछि बलि दिन आउनेको समेत वर्षेनी भीड बढेको छ ।

राजविराजवाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमा नजीकै रहेको मन्दिरमा खसी, बोका, परेवा र हाँसको बलि दिइन्छ । दशैँलाई ध्यानमा राखी मन्दिरमा रङरोगन, सरसफाइ तथा सजावट गरिनाका साथै विभिन्न स्थानमा पिउने पानी, शौचालय र रात बिताउनेका लागि बासस्थानको व्यवस्थासमेत मिलाइएको झाले जानकारी दिए ।

सखडेश्वरीको मस्तक अर्थात् शिर नभएकाले छिन्नमस्ता भगवतीका नामले प्रख्यात छ । भगवतीकै नामबाट विगतमा गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल गाउँपालिकाको नामसमेत राखिएको छ ।

 

मन्दिरकाे इतिहास

करीब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाका रूपमा थियो । त्यहाँकी च्याखुरी नानी प्याकुरेलले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेकाे बताइन्छ ।

विसं १९९० को भूकम्पमा मन्दिर भत्किएकाले त्यसबेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाए ।

त्यसपछि विसं २०२८ मा तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रले पक्की मन्दिरका साथै तीनकोठे धर्मशाला पनि बनाउन लगाएकाे इतहास छ ।

यसैगरी २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणका लागि रु पाँच लाख सहयोग गर्दै भगवतीको प्यागोडा शैलीको मन्दिर निर्माण गराएको पीठाधीश ठाकुरकाे भनाइ छ ।

किंवदन्ती

प्राचीन इतिहास र किंवदन्तीअनुसार सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्णाटकका कर्णाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आइपुगेका थिए । उनले सिम्रौनगढ (बारा) मा राजधानी कायम गरेर राज्य चलाए ।

उनै नान्यदेव वंशको पाँचौंँ पुस्तामा शक्रसिंहदेव राजा भएका थिए । दाजुभाइको दबवमा उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आएकाे किंवदन्ती पाइन्छ ।

त्यसबेला जङ्गलले ढाकिएको सो स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीका रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम ‘शक्रेश्वरी’ राखेको भनाइ छ ।

सखडेश्वरी सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहको कुलदेवी रहेको छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले बताए । देवीको शिर नभएकाले केही समयपछि ‘छिन्नमस्ता’ भगवती भन्न थालिएको हो ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्