टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने

टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने

एजेन्सी । विश्वकै सबैभन्दा भयानक समुद्री दुर्घटनाका रुपमा सम्झिइने टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने भएको छ । अष्ट्रेलियाका चर्चित खर्बपति व्यापारी एवम् राजनीतिज्ञ क्लाइभ पामरको कम्पनी ब्लु स्टार लाइनले २०१२ देखि सुरु गरेको सो परियोजना अब आगामी २०२२ मै सम्पन्न हुने संचार माध्यम सीएनएनले जनाएको छ । सो जहाज पहिलो टाइटानिककै हुबहु नक्कल भएकाले त्यसलाई टाइटानिक २ को नाम दिइएको हो । २०१६ मै निर्माण कार्य सम्पन्न हुने निर्धारित भएपनि यसअघि चिनियाँ सरकारको लगानी विवादास्पद बनेपछि काम रोकिएको थियो ।

यसरी आधुनिक नेभिगेसन, सुरक्षित प्रविधि र थप लाइफ बोट्स बाहेक यो पहिलेको टाइटानिककै हुबहु डिजाइन हुने बताइएको छ । आकार, तौल देखि भित्रि डिजाइन, डाइनिङ हल र क्याबिन समेत उस्तै हुने बताइएको छ । १९१२ मा हिमचट्टानसँग ठोकिएर दुर्घटनावश् डुब्न पुगेको विश्वकै आलिसान जहाज टाइटानिक, इतिहासकै सबैभन्दा चर्चित जहाज हो । ‘कहिल्यै नडुब्ने’ अभिव्यक्ति दिइएको सो जहाजमा अत्याधुनिक सुरक्षासहित विशेष फिचर अपनाइएको भएपनि चट्टानसँग ठोकिएका कारण निम्तिएको दुर्घटनामा क्याप्टेन र जहाजका आर्टिटेक सहित १५०० ले ज्यान गुमाएका थिए । 

यसपटक भने टाइटानिक आयरल्यान्डमा नभएर चीनमा तयार भइरहेको छ । तरपनि यसका क्याबिन पहिलेकै जति हुने र यात्रुको सङ्ख्या पनि २४०० र ९०० कर्मचारी यथावत् राखिने बताइएको छ । यति मात्र नभएर त्यसले तय गर्ने यात्राको रुट समेत पहिलो टाइटानिककै रहने बताइएको छ । यसरी सो जहाजले दुबइदेखि न्युयोर्कसम्मकै यात्रा गर्ने निश्चित गरिएको हो । यसको टिकट पनि पहिले जसरी नै फस्र्ट क्लास, सेकेन्ड क्लास र थर्ड क्लासमा विभाजित गरिने बताइएको छ तर त्यसको शुल्कबारे भने थप जानकारी दिइएको छैन । यसरी सबैथोक यथावत् राखिएपनि पहिलेको गलती र दुर्घटना नदोहोर्याउन टाइटानिक २ मा भने लाइफ बोट्सको सङ्ख्या बढाइने र आधुनिक नेभिगेसन अनि रेडरको प्रयोग हुने बताइएको छ ।

यसबारेमा १९९७ मा निर्माण गरिएको विश्वचर्चित फिल्म ‘टाइटानिक’ का कारण पनि सो जहाजबारे सबैलाई धेरै जिज्ञासा रहँदै आएको हुँदा यो सञ्चालनमा आउनासाथै विश्वभरका पर्यटकलाई आकर्षित गर्ने पामरको भनाइ छ । यसले यात्रुहरुलाई वास्तविक टाइटानिकको अनुभव गराउन सक्ने उनले दाबी गरेका हुन् । तर इतिहासकै दोस्रो ठूलो जहाज दुर्घटना मानिने टाइटानिकको अन्त्य अत्यन्तै दुःखद् रहेकाले कतिपय मानिसले भने राम्रो प्रतिक्रिया दिइरहेका छैनन् । त्यसबेलाको टाइटनिकमा विश्वका सर्वाधिक धनी व्यक्तिहरु सवार थिए जसको भग्नावशेष ७० वर्षपछि मात्र फेला परेको हो । र विश्वभर विभिन्न संग्राहलयमा अझै यसका अशं सुरक्षित राखिएको छ । उक्त टाइटानिक ८८२ फिट ९ इन्च लामो र  १०४ फिट उचो थियो । हाल निर्माणधिन् दोस्रो टाइटानिक पनि यही नापमा तयार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्