गोदाममै थन्कियो अलैंची, भाउ प्रतिमन ३० हजारमा झर्याे

<span class='c1'>गोदाममै थन्कियो अलैंची,  भाउ</span> <span class='c2'>प्रतिमन ३० हजारमा झर्याे</span>

धनकुटा, १० कात्तिक ।  महालक्ष्मी–३ डाँडागाउँका विनोद थापाको घरमा विगत दुई वर्ष अघिदेखि पाँच मनभन्दा बढी अलैंची गोदाममै थन्किएको छ। गत वर्ष पनि उचित भाउ नपाउँदा उनले अलैंची यसैगरी थन्काए। यो वर्ष पनि उचित भाउ नपाए अलैंची गोदाममै थन्काउने उनले बताए।

अलैंचीको भाउ उचित नपाउँदा उनीजस्तै डाँडागाउँका अधिकांश किसानले अलैंची बिक्री गरेका छैनन्। दुई/तीन वर्षयता किसानले अलैंची गोदाममै थन्काएर राखेका छन्। भाउ बढ्ने आशले किसानले अलैंची बिक्री नगरी घर–घरमै गोदाम बनाई थन्काएर राखेको महालक्ष्मी–३ का वडाध्यक्ष भरत थापाले बताए।

तीन वर्ष अघिसम्म अलैंचीको भाउ प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म पुगेको थियो। तर अहिले बर्सेनि घट्दै आएको छ। अहिले अलैंचीको भाउ प्रतिमन ३० हजार रुपैयाँ पुगेको छ। प्रतिमन ३० हजार रुपैयाँका दरले बिक्री गर्दा लागत खर्चसमेत नउठ्ने विनोद बताउँछन्। उनले भने, ‘प्रतिमन ६० हजार सम्म भाउ पाउँदा बल्ल किसानलाई केही राहत हुन्छ।’

संखुवासभासँग सीमा जोडिएको डाँडागाउँका प्राय सबै घरले अलैंची लगाएका छन्। चार सय ५० घरधुरी रहेको यस वडामा ८० प्रतिशत अर्थात तीन सय ५० भन्दा बढी घरधुरीले अलैंचीको व्यावसायिक खेती गरेका छन्। यहाँका किसानको अलैंची खेती प्रमुख आम्दानीको स्रोत अर्थात नगदेबाली हो। हरेक घरधुरीले कम्तीमा पनि १५ देखि २० रोपनी क्षेत्रफलमा अलैंची लगाएको वडाध्यक्ष थापाले बताए।

उनका अनुसार विगत वर्षमा राम्रो भाउ पाउँदा किसानले हौसिएर अलैंची खेती लगाए। तर अहिले उत्पादन दिने बेलामा उचित भाउ नपाउँदा किसान निरास छन्। अन्य स्थानमा खोलाखोल्सीमा अलैंचीको खेती गरिएको भए पनि यस डाँडागाउँमा भने अन्नबाली फल्ने ठाउँमा अलैंची खेती गरेका छन्।

अधिकांश घरधुरीले अलैंची गोदाममै थन्काएर राखेको वडाध्यक्षले बताए। कतिपय किसानले दैनिक जीवनयापनमा समस्या पर्दा मात्रै अलैंची बेचेका छन्। राम्रो भाउ पाउने आशले फलेका अलैंची किसानको गोदाममा थन्किएका छन्। गोदाममा केही वर्षसम्म राख्दा पनि अलैंची नबिग्रिने भएकाले किसानले भाउ पर्खेर बसेको उनले बताए।

२०३८ सालदेखि अलैंचीको व्यावसायिक खेती गर्दै आएका सोही गाउँका रत्नबहादुर थापाले अलैंचीको पछिल्लो भाउले किसानमा नैराश्यता छाएको बताए। ‘विभिन्न किसिमका रोगकीरा, ढुसीजन्य संक्रमणले अलैंचीको उत्पादन घटिरहेको बेला घट्दो भाउले किसान मर्कामा परेको अलैंची किसान रत्नबहादुरले बताए।

जिल्लामै अलैंची उत्पादनको हिसाबले अग्रपंत्तिमा आउने डाँडागाउँका अलैंची किसानलाई वडा कार्यालयसँगको समन्वयमा अलैंची खेतीसम्बन्धी तालिम प्रदान गरेको कृषि प्राविधिक शेखर चापागाईंले बताए। एक गाउँ एक कृषि प्राविधिकअन्तर्गत अलैंची उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको डाँडागाउँमा सरकारले कृषि प्राविधिक खटाएको छ। (अन्नपुर्ण पाेष्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्