सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ

सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ

बिराटनगर, १४ कात्तिक । चाडपर्व सुरु भएसँगै बढ्ने व्यावसायिक जुवा नियन्त्रण गर्न प्रहरीले सुरु गरेको अभियानका क्रममा सुनसरी र मोरङबाट १५ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद बरामद भएको छ।  सुनसरीको गढी गाउँपालिका ५ सत्तेरझोडा स्थित खेतमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। ईनरुवा नगरपालिका २ का ३२ वर्षीय दिपेन्द्र शाह, ४० वर्षीय सुरेन्द्र मेहेता, ३८ वर्षीय अकबर अन्सारी, ३८ वर्षीय गुरुदेव मेहता र २७ वर्षीय दिपेश रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तास खेलिरहेको स्थानबाट १ लाख ५६ हजार ४ सय रुपैयाँ, २ वटा मोटरसाइकल र ३ बुङ तास बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यसैगरी, मंगलबार मध्यराती मोरङको कानेपोखरी गाउँपालिका १ स्थित कुकुर भुक्का भन्ने ठाउँबाट कौडा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय मित्र रेग्मीको घरमा जुवा (कौडा) खेलाइरहेको अवस्थामा १ लाख ८५ हजार रुपैयाँ नगद र २ सेट कौडासहित कानेपोखरी गाउँपालिका १ का ४० वर्षीय मित्र रेग्मी, ५१ वर्षीय उमाकान्त कार्की,५२ वर्षीय तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ का ४७ वर्षीय मोतीलाल राजबंशी, ३१ वर्षीय ओम बहादुर कटुवाल, रंगेली नगरपालिका २ का ४२ वर्षीय जनक कार्की, ४३ वर्षीय राजु बहादुर थापा, ४९ वर्षीय राजेन्द्र शर्मा, ४२ वर्षीय बिष्णु गुरुङ र ५२ वर्षीय डेफुराम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सवै उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्