विराटनगरमा छठ पर्वको अघिल्लो दिन यस्तो रौनक देखियो (फोटो फिचर)

विराटनगरमा छठ पर्वको अघिल्लो दिन यस्तो रौनक देखियो (फोटो फिचर)

प्रेम देवान ।
विराटनगर, २६ कातिक ।
नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार सकिए सँगै तराई यतिबेला देश छठमय भएको छ । बिशेषगरी तराईका पोखरी, नहर जस्ता जलाशय सरसफाई गरेर चिटिक्क पारिएको छ ।
यस पटकको छठ पर्व कात्तिक २७ गते बेलुकीको अस्ताउँदो र २८ गते विहान उदाउँदो सुर्यलाई दिने तयारीको लागि अधिकांश जलशायहरु सफा गरेर भोली बेलुकी हुने छठ पुजाको सम्पुर्ण तयारी तिब्र पारिएको हो । विराटनगरमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गरेर चिटिक्क पारिएको छ । सुनसरी–मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, सिँघिया खोला, विराटनगर १ पोखरियामा रहेको परोपकार घाट, रानीमा रहेको मन्टा पोखरीमा सरसफाई गरेर घाटमा छठ पुजाको लागि अन्तिम तयारी गरिएको हो ।
छठ पर्वलाई भव्यता दिन विभिन्न छठ पर्व समिति तथा विभिन्न क्लवहरुले साँस्कृतिक कार्यक्रम पनि गर्दैछन् । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जलाशयहरु विभिन्न संघ संस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालिसकेका छन् ।
आज छठ पर्वको दोस्रो दिन खरना
छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ ।
गुद्रीमा खुट्टै टेक्न गाह्रो
विराटनगरको गुद्री बजारमा अहिले पाईला टेक्ने ठाँउ पाउन गाहे छ । विशेष गरी भाईटिकाको भोली पल्ट देखिनै उक्त स्थानमा छठ पर्वको आवश्यक सामाग्री खरिद गर्ने र बेच्नेहरुको अत्याधिक भिड रहेको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामाग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण यति बेला गुद्री बजारमा व्यस्त छन् । छठ पर्वमा विशेष गरी बाँसबाट बनाईएका डाला, नाङ्लो, ढकिया, कनसुप्ती र कुनिया जस्ता सामाग्री चढाउने गरिन्छ । त्यस्तै माटोबाट बनेका सामग्री पनि छठ पर्वमा चढाउने गरिन्छ ।  चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ समापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्