विराटनगर, ३ मंसिर ।
फुटबलको विकास, सहजता र ब्यवस्थापनका लागि जिल्ला फुटबल संघ मोरङले रेफ्री समितिसहित अन्य दुइवटा उपसमिति गठन गरेको छ। सोमबार संघको विराटनगरमा रहेको कार्यालयमा बसेको कार्यसमिति बैठकले मोरङ जिल्लामा रहेका रेफ्रीहरुको समिति, प्राविधीक तथा प्रतियोगिता उपसमिति तथा अनुशासन उपसमिति गठन गरेको अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए। मोरङ जिल्लामा हुने खेलकुद प्रतियोगितामा हुनसक्ने दुर्घटना, दुव्र्यवहारलाई लक्षित गर्दै रेफ्रीहरुलाई बलियो बनाउने लक्ष्यका साथ एकीकृत गरिएको अध्यक्ष धिमालले बताए। संघसंगको स्वीकृति विना प्रतियोगिता हुदाँ त्यसबाट हुने दुर्घटनालाई कम गराउन सकिने र विना स्वीकृति प्रतियोगिताको जिम्मेवारी संघले नलिने अध्यक्ष धिमालको भनाइ छ।
खेल खेलाउने क्रममा हुने झैझडा, खेलको सशक्त भूमिकामा देखिने रेफ्री विवादास्पद हुने हुदाँ त्यसलाई नियन्त्रण र सभ्य खेलकुद प्रतियोगिता गराउन समिति गठन गरिएको पूर्व राष्ट्रिय रेफ्री एवं समितिका अध्यक्ष मधुसुदन खनालले बताए।
त्यसैगरि, बैठकले प्रशिक्षक एवं जिल्ला सदस्य मनिष तिम्सिनाको संयोजकत्वमा प्राविधीक तथा प्रतियोगिता उपसमिति गठन गरेको छ । उनीसंगै समितिमा प्रशिक्षक पारस चौधरी, र पूर्व रेफ्री मधुसुदन खनालपनि रहेकाछन्। त्यसैगरि, बैठकले जिल्ला सदस्य अभयकुमार राईको संयोजकत्वमा अनुशासन उपसमितिपनि गठन गरेको छ। पूर्वराष्ट्रिय खेलाडी विनेश बस्नेत, जिल्ला सदस्य प्रभाकर थापासहितको उपसमितिले संघको स्वीकृतिमा भएका प्रतियोगिताका खेलहरुमा अनुशासनको क्षेत्र हेर्नेछ।