झापामा हाट बजार संरक्षण गर्न थालिएसँगै हाट बजारमा बढ्दो आकर्षण

झापामा हाट बजार संरक्षण गर्न थालिएसँगै हाट बजारमा बढ्दो आकर्षण

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ५ गते । झापामा हराउँदै गएका पुराना एवं नयाँ हाट बजार संरक्षण गर्न थालिएसँगै उपभोक्ता एवं व्यापारीको यसमा आकर्षण बढ्न थालेको पाइएको छ । यस्ता गाउँघरमा लाग्ने हाट बजारमा घरेलु कृषि उत्पादनदेखि लिएर घरायसी आवश्यकीय सामग्री सस्तो हुने भएकाले यसमा उपभोक्ताको आकर्षण हुने गरेको छ ।
पुराना ठाउँको नामसमेत हाट बजारसँंग गाँसिएर राख्ने गरेको समेत भेटिन्छ । झापा कमल गाउँपालिका ५ र ६ को सिमनामा रहेको मङ्गलबार भन्ने ठाउँमा मङ्गलबार हाट लाग्छ । पहिला मङ्गलबार यहाँ हाट लागेर नै मङ्गलबारे भएको र बीचमा हाट बजार नै बन्द भएपछि पहिचान मेटिएको भन्दै स्थानीयले दुई वर्षअघिदेखि पुन हाट लगाउन शुरु गरेका थिए ।

मङ्गलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिं राईका अनुसार अपरान्हपछि बजारमा खुट्टा राख्न मुस्किल हुने गरीको भीड लाग्ने गरेको छ । विशेषगरी कृषि उत्पादन एवं सब्जीका लागि यो बजार प्रख्यात बनेको छ । बजारमूल्य भन्दै आठ÷दश रुपियाँ सस्तो पाउने भएकाले आसपासका क्षेत्रका बासिन्दा यहीँ आउने गर्छन्, राईले भन्नुभयो ।
बजार व्यवस्थापन एवं पुरपारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको र आगामी दिनमा यसलाई अझ व्यवस्थित गर्ने योजना रहेको उहाँले बताउनुभयो । मानिसलाई घरेलु रूपमा प्रयोग गर्ने लत्ताकपडादेखि लिएर सागसब्जी, फलफूल र अन्नलगायतका सबै प्रकारको सामग्री बजारमा पाइने गरेको छ ।

यता कमल गाउँपालिका ७, गेउरीयामा तीन वर्षअघिदेखि शुक्रबार हाट लगाउन थालिएको छ । पछिल्लो समय गेउरीयाको नाम नै शुक्रबारे बजारको रूपमा चिनिन थालेको छ । स्थानीय बजार व्यवस्थापन समितिका युवराज अधिकारीका अनुसार स्थानीय उत्पादनदेखि लिएर बजारमा पाउने अधिकांश सामग्री यही उपभोक्ताले पाउने गरेका छन् । 
झापा गौरादहमा हप्तामा दुई दिन हाट लाग्ने गरेको छ । आइतबार र बिहीबार गरेर दुई दिन हाट लाग्ने गरेको जनाइन्छ । परम्परागत हाट बजारका रूपमा वर्षौंदेखि यो लाग्दै आएको नपा १ का वडाध्यक्षसमेत रहनुभएका दमक नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार यो वर्षमात्र यो बजार व्यवस्थापनका लागि प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
गौरादहको नै ग्वालडुब्बा हाटलाई समेत यसै वर्षबाट व्यवस्थापन शुरु गरिएको नगरपालिकाले जनाएको छ । भण्डारीका अनुसार सडकमा लाग्दै आएको हाटलाई बेग्लै जग्गाको व्यवस्थापन गरेर शुरु गरिएको छ । गौरादहभित्र पर्ने स्कुलचौन, चप्रमारी, बैगुन्धुरालगायतका बजारको व्यवस्थापनका लागि नगरसभाले नै आवश्यक बजेट विनियोजन गरेको छ, भण्डारीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्