विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार झापाको जामुनबारी चोकमा आक्रमण भएको छ ।
नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर कनकाईस्थित दोमुखा क्षेत्रबाट फर्किरहेका बेला उनीमाथि आक्रमण भएको हो ।
कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापा सवार गाडीलाई नेपाल विद्युत प्राधिकरणको गाडीले बाटो छेकेपछि आक्रमण भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए । थापा सवार को १ झ ६५३ नम्बरको गाडीलाई बा १ ञ १४७० नम्बरको विद्युत प्राधिकरणको गाडीले बाटो छेकेको र त्यसपछि भिआईपी गाडी भएको जानकारी दिँदा समेत आक्रमण गरिएको उनको भनाई छ ।
स्थानीयवासीले आक्रमणकारीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । घटनामा संलग्न विद्युत प्राधिकरण सुरुङ्गाका चालक शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
आक्रमणमा घाइते भएका पूर्व मुख्यमन्त्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको र उनी उपचारपछि घर फर्केको जानकारी कांग्रेस सचिव हुमागाईँले दिए ।