उदयपुरका जाँगरिला किसानको परिश्रमले केरा खेतीबाट राम्रो आम्दानी

उदयपुरका जाँगरिला किसानको परिश्रमले केरा खेतीबाट राम्रो आम्दानी

गाईघाट, मङ्सिर ५ गते । परिश्रम गर्न सके बगरमा पनि सुन फलाउन सकिन्छ भनेझैँ यहाँका एक जाँगरिला किसानले खोला किनारको बालुवामा व्यावसायिक केरा खेती गरेर राम्रो दाम कमाउन सफल हुनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ निवासी अर्जुन राईले स्थानीय त्रियुगा खोलाको कटानले सेती बगर बनाएको बालुवामा केरा खेती गरेर राम्रो दाम कमाउन सफल हुनुभएको हो ।

झण्डै ११ वर्षअघि भोजपुरको कुलुङ गाउँबाट बसाइँ सरेर यहाँ आउनुभएका राईले दुई वर्षयता निरन्तर रूपमा आयआर्जनका लागि केरा खेती गर्दै आउनुभएको छ । विदेशमा गर्ने परिश्रम आफ्नै देशमा गरे त्यहाँको भन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने मान्यताले कृषि पेसामा लाग्नुभएका राईले केरा बिक्रीबाट आफूले वार्षिक तीन लाखभन्दा बढी रकम आम्दानी गर्ने गरेको बताउनुभयो ।

गाउँका केही व्यक्तिसँग त्रियुगा खोला किनारको बालुवाले पुरिएको करिब दुई बिघा बगर जग्गा सस्तो मूल्यमा किनेर केरा खेती गर्दै आउनुभएका राईले पैसा कमाउन विदेशमा गएर अनेक हण्डर खानुभन्दा आफ्नै देशको बालुवामा मिहिनेत गरे राम्रो कमाइ पनि हुने तथा शारीरिक र आर्थिक सुरक्षा पनि हुने हँुदा आफूले ढुक्क भएर विगत चार वर्षदेखि बगरमा केरा खेती गर्दे आएको बताउनुभयो ।

पुख्र्यौली पेसा कृषि भए पनि भोजपुरको कुलुङमा बसेर खेती गर्दा बजार नपाउने समस्या भएको उहाँले बताउनुभयो । राईले भन्नुभयो, कुलुङमा पनि केरा खेती गरेर धेरै उत्पादन गरियो तर बिक्री गर्ने बजार भएन । त्यसैले बजारको समस्या नहुने भनेर नै हडिया आएर खेती गरेको उहाँ बताउनुहुन्छ । 

अहिले दुई बिघा जमिनमा केरा खेती गर्दै आउनुभएका राईले त्यसको आम्दानीबाट अरू खेती विस्तार गर्न लागेको बताउनुभयो । विदेशमा नेपालीले भोगेका समस्या बुझेकोले नै विदेश जाने इच्छा नगरेको बताउँदै विदेश गएर कमाउने पैसा त्योभन्दा कम परिश्रममा गाउँघरमै काम गरे कमाउन सकिन्छ उहाँले भन्नुभयो, वैदेशिक रोजगारमा जाँदा पैसा पु¥याउन जानुपर्छ तर यहा“ खेती गर्दा उल्टै घरमा पैसा पु¥याउन आउँछन् ।

आफ्नो घरमा बसेर लाज र अल्छी नमानी काम गर्ने बानी नहुँदा नेपाली युवाले विदेशमा सास्ती भोग्नुपर्ने राईको तर्क छ । मुलुकमै बसेर काम गर्दा लाज मान्ने र अल्छी गर्ने युवकले विदेशमा कडा परिश्रम गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
तीन वर्ष पहिले मोरङको गछियाबाट प्रतिगोटा ५० रुपियाँको खर्चमा माल्वोक जातको केराका बिरुवा किनेर ल्याएर रोपेपछि त्यसलाई आधुनिक तरिकाले गोेडमेल गरी मलजल गरेकोले गत वर्षदेखि राम्रो उत्पादन भइरहेको र एकपटक बिरुवा रोपेपछि चार÷पाँच वर्षसम्म छाउरा हुर्काएर उत्पादन बढाउन सकिने उहाँ बताउनुहुन्छ ।

यस वर्षको दशैँ, तिहार र छठ पर्वजस्ता नेपालीका ठूला चाडबाडका अवसरमा आफ्नो उत्पादनले प्रशस्त बजार भाउ पाएको र मालवोक प्रजातिको केराका घरी बिक्रीबाट एकै पटकमा करिब तीन लाख कमाइ भएकोले आफू थप उत्साहित भएको उहाँले बताउनुभयो । ठूला बोट काटेर बाहिरिँदै जाने तथा साना बिरुवा हुर्कदै जाने भएकाले अहिले बगरभरि केराका बिरुवा फस्टाएर हराभरा भएको राईको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्