इन्टिग्रिटी आइडलमा पाँच जना छनोट

इन्टिग्रिटी आइडलमा पाँच जना छनोट

सविता शर्मा

काठमाडौँ, मङ्सिर ६। इन्टिग्रिटी आइडलको पाँचौ संस्करणमा उत्कृष्ट पाँच सरकारी कर्मचारी छनोट भएका छन् । नागरिकको मनोनयनबाट छानिएका कर्मचारी विभिन्न सात चरणको छनोट पार गर्दै उत्कृष्ट पाँच भएका हुन् ।
सरकारी कर्मचारी भ्रष्ट भई सेवाग्राहीप्रति जिम्मेवार भएनन् भन्ने जनगुनासो र नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न र सबै कर्मचारी खराब मात्र छैनन् भन्ने सन्देश दिनका लागि सुरु भएको इन्टिग्रिटी आइडलको पाँचौ संस्करणमा उत्कृष्ट पाँच कर्मचारी छनोट गरिएको हो ।

एकाउन्टबिलिटी ल्याब नेपाल नामक संस्थाले आयोजना गरेको इन्टिग्रिटी आइडल नेपाल २०१८ का उत्कृष्ट पाँचको नाम मङ्गलबार सार्वजनिक गरिएको थियो । 
यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर स्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अनमी सीताकुमारी शर्मा छनोट हुनुभएको हो ।
मनोनयनमा परेकामध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा प्रशासनविद् काशिराज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र नेपाल सरकारका पूर्र्वसचिव जीवनप्रभा लामा रहनुभएको थियो ।
प्रशासनविद् दाहालले यस वर्ष करिब एकहजार एक सय मनोनयन परेकोमा त्यसबाट उत्कृष्ट ३०, १० हुँदै पाँचजनालाई छनोट गरिएको जानकारी दिँदै भन्नुभयो,“पाँच जनामात्र उत्कृष्ट भन्ने होइन, यो प्रक्रियामा सामेल भएकालाई विभिन्न कोणबाट गरिएको मूल्याङ्कनका आधारमा छान्दा आएको नतिजा हो यो ।”
नेपालको जनप्रशासन नतिजा, परिणाम र जनमुखी हुन नसकेको, इमानदारीमा ह्रास आएको र बफादारी खस्कँदै गएको चर्चा गर्दै दाहालले नागरिक तथा सेवाग्राहीको तहबाट राम्रो काम गर्नेलाई सम्मान गर्ने पद्धति बसाल्न र सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो ।
दाहालले भन्नुभयो,“नेपाल सरकारले पनि निजामती दिवसका दिन राम्रो काम गर्ने कर्मचारीलाई सम्मान र पुरस्कृत गर्ने प्रचलन छ, नागरिकको तहबाट मूल्याङ्कन र सम्मान गर्ने पद्धतिको विकास पनि हुन्छ भन्ने हो ।”
यसबाट भ्रष्टाचार रोकथाम, इमानदारी, सदाचारी बन्दा जनस्तरबाट पनि सम्मान मिल्दो रहेछ भन्ने सन्देश जानुका साथै अरुलाई पनि इमानदार र सदाचारी बन्ने प्रेरणा मिल्ने दाहालले बताउनुभयो ।
नेपालका लागि उक्त संस्थाका कार्यक्रम संयोजक अस्मिता शर्माले सरकारी कर्मचारीलाई आइडलका रूपमा प्रस्तुत गर्दा यसले नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह हुनसक्ने चर्चा गर्दै भन्नुभयो,“नराम्रोलाई औंला ठड्याउनुभन्दा राम्रोलाई प्रोत्साहन गर्दा पनि सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने सोचका साथ काम गरिरहेका छौंँ । सकारात्मक काम गर्नेलाई प्रोत्साहन गर्न र नयाँ पुस्तालाई इमानदार र सदाचारी व्यक्ति कस्तो हुन्छ भन्ने कुरा बुझाउनका लागि पनि यो अभियान सुरु गरेका हाँैं । ”
सन् २०१४ मा नेपालबाट सुरु भएको यो कार्यक्रम लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया, दक्षिण अफ्रिका र श्रीलङ्कामा पनि सञ्चालन भइरहेको छ । श्रीलङ्कामा ट्रान्सपरेन्सी इन्टरनेसनले यो कार्यक्रम सञ्चालन गरिरहेको छ भने दक्षिण अफ्रिकामा नेल्सन मण्डेला फाउन्डेसनले कार्यक्रम सञ्चालन गरिरहेको छ । अघिल्लो वर्ष बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल बिजेता बन्नुभएको थियो ।

करिब एकहजार एक सय कर्मचारीको मनोनयनमा उत्कृष्ट पाँचमा प्रवेशका लागि इमानदारी र सदाचारिताको मापन गर्न १२ वटा परिसूचक तयार पारिएको र सोहीका आधारमा उत्कृष्ट पाँच छनोट गरिएको पनि शर्माले जानकारी दिनुभयो ।
संस्थाका तर्फबाट पाँचैजना बिजेता भइसकेको उल्लेख गर्दै शर्माले नागरिक मतका आधारमा सबैभन्दा बढी मत ल्याउनेको नाम मङ्सिर २१ गते घोषणा गरिने जानकारी दिनुभयो । अन्तिम पाँचमध्ये एसएमएस र वेबसाइटबाट प्राप्त नागरिकको मतका आधारमा सबैभन्दा बढी मत ल्याउने कर्मचारीको घोषणा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्