पूर्वका पहाडी जिल्लामा पानीको सङ्कट, प्रदेश सरकारले गर्ला त समाधान ?

<span class='c1'>पूर्वका पहाडी जिल्लामा पानीको सङ्कट, प्रदेश</span> <span class='c2'>सरकारले गर्ला त समाधान ?</span>

पाँचथर , ७ मङ्सिर। खानेपानी अभावकै कारण पूर्वका पहाडका पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट वर्षेनि हजारौं मानिस बसाइँ सर्ने गरेका छन् । पाँचथर र तेह्रथुमका केही स्थानीय तहलाई नेपाल सरकारबाटै सुक्खाग्रस्त क्षेत्र घोषणासमेत गरिएको छ । यहाँका स्थानीय तहहरू विकासमा खर्चिनुपर्ने बजेटबाट पानी बोक्ने ट्याङ्कर खरीद गर्न बाध्य छन् । तर, पछिल्लो समय जमीनको गहिराइबाट पानी निकाल्ने प्रविधि (डीप बोरिङ)प्रति यहाँका स्थानीय तहको चासो बढेको छ । खानेपानी अभावमा स्थानीय बासिन्दा गाउँ नै खाली गरेर बसाइँ सर्न थालेपछि यो समस्या समाधानका लागि तेह्रथुमको छथर गाउँपालिकाले डीप बोरिङमार्फत पानी निकालेर वितरण शुरू गरेको छ ।गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको समेत हाहाकार भएको छ । यो समस्याको गर्न डीप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको गापाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । ‘बढ्दो खानेपानी समस्या समाधान गरी बसाइ सराइ दर घटाउन जमीनमुनिको पानीको स्रोत उपयोग गरेका हौं,’ उनले भने । उक्त गाउँपालिकाले ४० लाख खर्चेर डीप बोरिङ खानेपानी आयोजना बनाएको हो । १ हजार ७ सय मिटर उचाइमा रहेको डाँडामा १ सय ३२ मिटर तलबाट पानी निकालिएको छ ।

यसरी निकालिएको पानीले छथर गाउँपालिकाका ४ वडाका करीब २ हजार घरपरिवारलाई वितरण गर्ने लक्ष्य छ । यता, पाँचथरको सदरमुकाम फिदिमसहित सुक्खाक्षेत्रका रूपमा सूचीकृत सात स्थानका बासिन्दाको सुविधाका लागि डीप बोरिङ प्रविधिमार्फत पानी निकाल्न सम्भाव्यता अध्ययन गरिएको छ । सदरमुकाम फिदिम–११ का सल्लेरी, फिदिम–९ लुम्फावुङको फेमेसुवा, कुम्मायक गाउँपालिका–४ को काफलपानी, कुम्मायक–३ का देवल र थापागाँउका साथै फाल्गुनन्द गाउँपालिका–१ को सुर्केनागीमा डीप बोरिङमार्फत पानी निकाल्न सम्भाव्यता अध्ययन गरिएको हो । ती स्थानका बासिन्दालाई पिउने पानी उपलब्ध गराउने र बसाइसराइ रोक्ने उद्देस्यले उक्त आयोजना बनाउन लागिएको १ नम्बर प्रदेश सरकारले बताएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अस्थायी सेवाकेन्द्र रहेको घुर्बिसे पञ्चमीबजारमा समेत डीप बोरिङ प्रविधि जडानको अन्तिम तयारी भइरहेको छ । फाल्गुनन्द गाउँपालिकाका प्रवक्ता दानबहादुर अधिकारीसहितको टोली धनकुटासम्म पुगेर डीप बोरिङ प्रविधिको अध्ययन गरेर फर्किसकेको छ । प्रवक्ता अधिकारीका अनुसार अब तत्कालै काम अगाडि बढ्नेछ । सम्भाव्यता अध्ययनका लागि पाथीभरा बोरिङ एण्ड कन्सल्टेण्टका जिओहाइड्रोलोजिष्ट विकास प्रधानसहितको प्राविधिक टोली पाँचथर पुगेको थियो । अध्ययन सम्पन्न गरेपछि जमीनको सतहबाट ४ सयदेखि २ हजार १ सय मिटर गहिराइमा पानी भेटिएकाले योजना अगाडि बढाउन सकिने सुझाव पेश गरेको छ ।

पाँचथरमा पानीको अभावले बसाइसराइको क्रम तीव्र भइरहेकाले डीप बोरिङको अवधारणा ल्याइएको र योजना चालू आर्थिक वर्षदेखि नै अघि बढाइने १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्