कमला नदीमा अनाैठाे भूत मेला

<span class='c1'>कमला नदीमा अनाैठाे</span> <span class='c2'>भूत मेला</span>

सप्तरी,७ मङ्सिर ।  सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीमा सूर्योदयसँगै शुक्रबार हजारौँ नवधामी/झाँक्रीको घुइँचो लागेको छ । हजारौं स्त्री–पुरुष दुवै पट्टिका नदीका किनारमा 'भगता' (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस्त रहेका थिए । शुक्रबार बिहानैदेखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी/झाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए ।आफ्नो तन्त्रमन्त्रलाई सिद्ध गर्नका लागि उनीहरु पूर्णिमाको अवसरमा कमला नदीमा डुबुल्की मार्न आएका हुन् । नदीमा धामीझाँक्री आफ्नो तन्त्रमन्त्र सिद्ध गर्न कर्कश स्वरमा चिच्याउँदै गोसाई  (देउता) खेल्दै गरेको देखिन्थ्यो ।शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका गर्न भन्दै कात्तिक पूर्णिमा स्नान गर्न नवधामीझाँक्री तथा बोक्साबोक्सीहरु स्नानका लागि प्रत्येक वर्ष आउने गरेको स्थानीयवासी बताउँछन् । ‘झण्डै ८ वर्षदेखि यसरी नै पूर्णिमाको दिन स्नान गर्छु’, झाक्री झबु गोइतले भन्नुभयो, ‘स्नानले मनमा शान्ति, घरपरिवार सुखी राख्नुको साथै देवीदेवताले रक्षा गर्छन्, भूत प्रेत लागेको भए हट्ने र दुखकष्ट कमलामा बग्ने मान्यता भएका कारण प्रत्येक वर्ष यसरी नै स्नान गर्ने गरिएको छ ।’

आजको दिन स्नान गर्नाले देवी देवताको बन्धन हुने, घरपरिवार, सन्तान सुखी रहने र 'भूतप्रेत' निको हुने विश्वास रहेको धामी झाँक्रीहरुको भनाई छ । कात्तिक पूर्णिमाका दिन कमला–गंगालगायतका पवित्र नदीमा नयाँ भगता अर्थात नवधामीझाँक्रीको जीउमाथि प्रथम पटक देउताको बास स्थायी हुने र भगताको गुण तथा तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । विजया दशमीको आगमनसँगै धामीझाँक्री सक्रिय हुने उनीहरु बताउँछन् । उनीहरुका लागि असोजको औंसीको दिन तन्त्र सिद्धिका लागि सर्वाेत्तम दिन मानिन्छ । उनीहरुले देवीदेवताको बास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको बिहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् । सिरहाको साथै महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, बारा,  पर्सा, सुनसरी, मोरङ र सीमावर्ती भारतबाट हजारौं धामी झाँक्री लावालस्करका साथ काम्दै उफ्रदै घण्टौ–घण्टाको बाटो पैदल गएर स्थान र तन्त्रमन्त्र गरेको दृश्य देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्