विराटनगर, १२ मंसिर । विराटनगरमा लामो समयदेखि नक्कली विद्युत परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै अाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय गुणराज ओझालाई मोरङ प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट पक्राउ गरेकाे हाे । विराटनगरमा घर भाडामा लिएर नक्कली कम्पनी संचालन गर्दै आएका ओझालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
ओझाबाट ठगीएका २ दर्जन बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा अन्तर्गत उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो ।ओझाबाट पीडित भएकाहरूका अनुसार एक जनाबाट २० हजारदेखि ३ लाख रुपैयाँसम्म लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । पक्राउ परेका अाेझालाई अदालतमा ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएकाे एसपी केसीले जानकारी दिए । ओझाले विराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएको आरोप छ ।