झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी ! ट्राफिकले थाल्यो दिउँसै चेकिङ

<span class='c1'>झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी</span> <span class='c2'>! ट्राफिकले थाल्यो दिउँसै चेकिङ</span>

झापा, १४ मंसिर । चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले दिउँसै मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साढे चार महिनाको अवधीमा मात्र ६५ वटा दुर्घटनामा २६ जनाले ज्यान गुमाए । जसमध्ये ५४ जना गम्भीर र ४३ जना सामान्य घाइते भए । अधिकांश सवारी दुर्घटनामा मापसे गरेर सवारी चलाएकाहरु भेटिएपछि ट्राफिक प्रहरीले पनि आफ्नो रणनीतिलाई परिवर्तन गरेको हो ।

‘जति पनि सवारी दुर्घटनाहरु भए अधिकांशका चालकले मादक पदार्थ सेवन गरेको पाइयो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजेश राईले भने, ‘दिउँसै मापसे गरेर सवारी चलाएकाले त अझ अरुलाई पनि दुर्घटनामा पार्ने देखिएकाले दिउँसो पनि मापसे चेकिङ गरिरहेका छौँ ।’

ट्राफिक प्रहरीले चालु आवको साढे चार महिनाको अवधीमा एक हजार सवारीचालकलाई मापसे कारवाही गरिसकेको छ । हाल प्रत्येक दिनको चेकिङमा कम्तीमा २० जना मापसे गरेका सवारी चालक भेटिने गरेको ट्राफिक प्रहरीको भनाई छ ।

मापसे गरेर सवारी चलाएकाको सेवनको मात्रा र प्रकृति हेरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) हुनेलाई लाइसेन्स प्वाल पारेर १ हजार रुपैयाँ र लाइसेन्स नहुनेलाई २ हजारसम्म जरिवाना गर्ने गरिएको छ । मापसे जाँच गर्न थालेपछि मापसे गरेर सवारी चलाउनेको संख्या घट्ने र दुर्घटना न्यूनिकरण हुने झापा ट्राफिक प्रहरीको विश्वास छ ।

अत्याधिक सवारी दुर्घटना हुने स्थानलाई मध्यनजर गरेर हाल झापाका विभिन्न ६ स्थानमा दिउँसो र साँझ मापसे चेकिङ हुने गरेको छ । मापसे जाँच गर्न हाल झापा ट्राफिकसँग ४ वटा ब्रेथलाइजर छ । अब बे्रथलाइजर र जनशक्तिको संख्या बढाएर मापसेलाई निरन्तरता दिने ट्राफिक प्रहरीको लक्ष्य छ । आगामी माघ १ गतेदेखि झापामा मदिरा नियन्त्रणका लागि विशेष अभियान समेत सञ्चालन हुँदैछ ।

मापसे गर्ने मोटरसाइकल चालक बढीः

मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमा मोटरसाइकल चालक बढी छन् । चिसो मौसम र वनभोजको सिजन सुरु भएसँगै दिउँसो पनि चालकलाई मापसे गरेको अवस्थामा भेट्ने गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

‘साँझमा चेकिङ बढी हुने भएकाले आजभोली दिउँसै पिएर हिँड्ने गरेको पाइयो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले भने, ‘त्यसले दुर्घटनाको जोखिम बढाउने भएकाले पनि हामीले मापसे चेकिङ दिउँसो गर्न थालेका हौँ ।’

उनका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधीमा ७ सय ३३ मोटरसाइकल चालकलाई मापसे कारवाही गरिसकिएको छ । त्यस्तै, ७५ जना कार, जिप र भेनका चालकलाई, ७ जना बसका चालकलाई, ३० जना ट्रक चालकलाई र १५ जना ट्रयाक्टर चालकलाई मापसे कारवाही गरिएको छ । यो अवधीमा ट्राफिक प्रहरी मापसे कारवाहीबाट मात्रै ९ लाख २२ हजार राजश्व उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्