केराबारीमा राखिएको घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरे

केराबारीमा राखिएको  घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरे

विराटनगर, १४ मङ्सिर । मोरङ जिल्लाको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको आर्थिक वर्षको पहिलो शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको प्रमुख सहायक जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिएका छन्।प्रमुख सहायक जिल्ला अधिकारी पाण्डेले शिविरमा ५ सय १७ महिला तथा ३ सय १७ जना पुरुषले नयाँ नागरिक लिएको बताए। उनले भने, ‘मंगलबार र बुधबार दुई दिनका लागि शिविर राखिएको भएपनि अत्यधिक भिडका कारण बिहीबार थप सर्वसाधारणको सहजताको लागि शिविर राखिए हो।’यस क्रममा केराबारी गाउँपालिकाकै एक ८१ वर्षीया महिलाले नागरिकता लिएको पाण्डेले बताए। उनले भने, ‘यसै गाउँपालिकाबाट एक बृद्ध महिलाले पहिलोपटक नयाँ नागरिकता लिनु भएको छ। साथै नागरिकता लिनेहरुमा ६० प्रतिशत २० वर्षमुनि उमेर समूहका रहेका छन्।’

यस क्रममा पहिलो दिन मंगलबार २ सय र बुधबार दोस्रो दिन २ सय ७५ जना नागरिकता लिएको प्रमुख सहायक जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। तिनदिने नागरिकता वितरणका क्रममा ३७ जनाले प्रतिलिपि नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ।सर्वसाधारणलाई माथिल्लो पहाडी क्षेत्रबाट एकैदिनमा विराटनगर पुगेर नागरिकता लिन असहज हुने भएकाले पहिलोपटक केराबारीमा शिविर राखिएको गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बताए। कार्कीका अनुसार नागरिकतासँगै मतदाता परिचयपत्रका लागि ५ सय ४५ जनाले फोटो खिचेका छन्। जसमा ३ सय ३ जना महिला र २ सय ४२ जना पुरुष रहेका छन्।

केराबारी गाउँपालिका मोरङको उत्तरी क्षेत्रमा अवस्थित पहाडी र तराई भूभागको मध्यमा पर्छ। केराबारीमा सिंहदेवी, भोगेटेनी, याङशिला, पाटी लगायतका गाउँबाट नागरिकताका लागि सर्वसाधारण पुगेका बताइएको छ। जिल्ला प्रशासन कार्यालयले वर्षको चार पटक यसप्रकारको शिविर जिल्लाका विभिन्न स्थानमा आयोजना गर्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्