यलु जोशी
काठमाडौंँ, मङ्सिर १८। सृष्टि केसी आँखा देख्न सक्नुहुन्न तर उहाँ धेरै युवालाई सही मार्गनिर्देश गर्न सक्नुहुन्छ । ‘मोटिभेस्नल स्पिकर’का रूपमा परिचित केसी यतिखेर दृष्टिविहीन अपाङ्ता भएका मानिसलाई सशक्त बनाउन विभिन तालिन प्रदान गर्न सक्रिय हुनुभएको छ ।
केसीको अनुभवमा हरेक मान्छेसँग क्षमता हुन्छ । तर, त्यो क्षमतालाई उसले सङ्कट आएपछि मात्र पूरापूर उपयोग गर्न सक्छ । ‘आँखा नदेख्ने भएपछि मैले कति कठोर दिनहरू गुजार्नुप¥यो, त्यसले जीवन बाँच्न सिकायो । हरेक सङ्कटभित्र समाधान हुन्छ,’ उहाँको भनाइ छ ।
हाल भारतको केरेलामा क्षमता अभिवृद्धि तालिम दिन व्यस्त उहाँ अनलाइनमार्फत् गोरखापत्रलाई भन्नुभयो,‘मेरो लागि अपाङ्गता दिवस नभएर सक्षमता र अवसरको दिन हो ।’
सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । ‘सूर्यतिर फर्केर बस्यो भने छायाँ जहिले पछाडि हुन्छ । छायाँ र अँध्यारोमा होइन सूर्यको किरणसँगै अगाडि बढ्नुपर्छ,’ उहाँको भनाइ छ ।
आफू दृष्टीविहीन छु भनेर हार मान्यौँ भने यो जीवनको कुनै अर्थ छैन तर कमजोरीलाई आफ्नो शक्ति मान्यो भने अँध्यारोमा पनि बगँैचा हुने उहाँले बताउनुभयो । उहाँले आफू दृष्टिविहीन हुँदाको समस्यालाई आफ्नो शक्ति बनाएर अरु दृष्टिविहीनलाई पनि सहयोग गरिरहनुभएको छ ।
आफूले भोगेका समस्यालाई बहसको विषय मात्र होइन, कामको विषय बनाउनुपर्छ भन्ने ठानेर दृष्टिविहीनहरुलाई सङ्गठित गरेर ‘ब्लाइन्ड रक्स’ नामक संस्था खोल्नुभयो । ब्लाइन्ड रक्सको अभियानलाई अगाडि बढाउन उहाँले निकै परिश्रम गर्नुभयो । मैले लिएको तालिम अरू दृष्टिविहीनको जीवन सहज बनाउन प्रयोग गर्छु ।
उहाँले दक्षिण भारतको केरलामा सात महिनाको क्षमता अभिवृद्धि तालिममा भाग लिन एक्लै पुग्नुभयो । त्यहाँ नृत्य, गायन, अभिनय लगायत प्रतिभा देखाएपछि तालिम दिने संस्थाले एक वर्षका लागि काम पनि दिए । केरलाबाट तालिम सकेर उहाँ नेपाल फर्किएपछि ब्लाइन्ड रक्सबाट दृष्टिविहीनहरुलाई एडभान्स तालिम दिने सोचले सुरुमा हाउभाउ सिकाउनुभयो ।
उहाँले भन्नुभयो, ‘दृष्टिविहीनहरुमा सबैभन्दा ठूलो समस्या भनेकै हामी आँखा देख्दैनाँै त्यसैले केही गर्न सक्दैनाँै भन्ने छ । उहाँहरू कुरा गर्दा पनि ‘आइ कन्ट्याक्ट’ गरेर कुरा गर्नुहुन्न । हाउभाउमा मिलाएर बोल्नुहुन्न । त्यसैले मैले उहाँहरुलाई सुरुमा कुरा गर्दा आममानिस सरह बोल्ने, खाने लगायतका व्यक्तित्व विकासका कुराहरु सिकाउँछु ।’
आँखा नदेखेपछि कुनै पनि काम गर्न सक्दैनन् भन्ने सबैको भ्रम तोडेर केसीले नर्वे, फ्रान्स लगायत चार देशमाआफ्नो नृत्य कौशल देखाइसक्नुभयो । आफ्नो नृत्य प्रतिभालाई उहाँले अरुलाई पनि सिकाउनुभएको छ ।
केसी भन्नुहुन्छ, ‘सपिङ गर्न जाँदा पसलेले दृष्टिविहीन भनेर सामान्य कपडा दिने गरेकाले मलाई मनमा ‘के हामी आँखा नदेख्दैमा नराम्रै बनेर हिँड्नुपर्छ भन्ने लाग्यो । त्यसैले केही साथीहरु भेला गराएर फेसनको कक्षा सुरु गरेँ ।’ उहाँ थप्नुहुन्छ, ‘तालिममा कुन ठाउँ जाँदा कस्तो लगाउने, कस्तो रङ्गको लगाउने, कुन मौसममा कस्तो रङ्ग प्रयोग गर्ने ? लगायतका कुराहरु पर्थे । आफूलाई थाहा नभएको कुरा भएको कारण फेसन बुझेका मानिसलाई ल्याएर कक्षामा भन्न लगाउँथे ।’
हङ्गेरीबाट नृत्य मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएका केसी ‘डान्स एन्ड एक्टिङ’ स्कुल नै खोल्न मन भएको बताउनुहुन्छ ।