सुरेश यादव
काठमाडौँ, मङ्सिर १९ गते । माटो प्रदूषणको समाधान बनौँ भन्ने नारासाथ पाँचौँ विश्व माटो दिवस बुधबार मनाइँदैछ । स्वस्थ माटोको महìवलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।
थाइल्यान्डका राजा भूमिबोल अदुुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उहाँकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।
माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता बढेको हो । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । देशका ५५ वटा जिल्लामा ३२ वर्षअघि माटोको सर्भे भएको थियो । सोही सर्भेको आधारमा माटोको मूल्याङ्कन गरी विभिन्न कार्यमा प्रयोग गरिरहेको छ । अर्को सर्भे गर्ने भइसकेको छ तर सरकारले त्यसमा चासो नदिएको कारण माटोसम्बन्धी काम प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् ।
किसान तथा अन्य क्षेत्रका सरोकारवाला व्यक्तिलाई कुनै सिफारिस दिनुपर्दा पुरानो सर्भेलाई नै आधार मानेर दिनुपरेको नार्कका माटो विज्ञान महाशाखा वरिष्ठ वैज्ञानिक प्रगुनसुन्दर सैँजु बताउनुहुन्छ । पुरानै सर्भेका आधारमा सिफारिस गर्दा परीक्षण प्रभावकारी हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, विश्वमा रहेको मापदण्डलाई पनि हामीले आधार मानेर माटो परीक्षण गरेका हुन्छौँ ।
माटो सर्भे गर्ने बेला भइसकेको छ तर यसप्रति सरकारले चासो नदिएको उहाँको गुनासो रहेको छ । ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको देखिन्छ । यस्तै अवस्था रही रह्यो भने ८०–९० वर्षभित्र एउटा पनि जमिन खेतीयोग्य नरहने वैज्ञानिकहरूको तर्क छ ।
दस वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकोमा अहिले ६९ प्रतिशत पुगेको दाबी वैज्ञानिकहरूको रहेको छ । अम्लीयपन बढ्दा प्राङ्गारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ । नाइट्रोजन, फस्फोरस र पोटास माटोमा हुने प्राङ्गारिक पदार्थ हुन् । यीबाहेक अन्य १३ प्रकारका सूक्ष्म र सहायक तìवले पनि माटोलाई उर्वर बनाउँछन् ।
नक्सा तयार गरिएका जिल्लाहरूको सरांशमा उर्वराशक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको छ । माटो व्यवस्थापन निर्देशनालयका अनुसार बर्दिया, कैलाली, महोत्तरी, चितवन, रूपन्देही, नवलपरासी, कञ्चनपुर, बाँकीमा उर्वरा शक्ति एकदमै कम रहेको छ । गुणस्तरीय माटोका लागि प्राङ्गारिक स्रोत दुई देखि पाँच प्रतिशतसम्म हुनुपर्नेमा तर यहाँ एक प्रतिशतभन्दा कम रहेको विभिन्न परीक्षणले देखाएको छ ।
गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ दुई देखि पाँच प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्ने माटो व्यवस्थापन निर्देशनालयले जनाएको छ ।
माटो विज्ञ कृष्णहरि मास्केका अनुसार माटो बिग्रिनुको धेरै कारणमध्ये किसानले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गर्नु रहेको छ । माटो परीक्षण नगरिकन जथाभावी प्राङ्गरिक मलको प्रयोग गरेको हुन्छ, जसले गर्दा दिनदिनै माटोको उर्वरा शक्तिमा ह्रास आएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, देशको माटोको अवस्था सन्तोषजनक छैन । ९५ प्रतिशत खानेकुरा माटोमार्फत प्राप्त हुन्छ तर माटो दूषित भएका कारणले मानिस अस्वस्थकर हुँदै गएको युएनले जनाएको छ ।