भारतका ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपाली आश्रम परिसरबाटै बेपत्ता

भारतका ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपाली  आश्रम परिसरबाटै बेपत्ता

नयाँ दिल्ली, मंसिर १९ । भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती एउटा आश्रम परिसरबाटै बेपत्ता भएका छन् ।

दिलशाद गार्डनस्थित संस्कार आश्रममा राखिएका उनीहरु केही दिनअघि आश्रमबाटै बेपत्ता भएको जनाइएको छ । रातको समयमा उनीहरु आश्रमबाट बेपत्ता भएका हुन् ।

दिल्ली प्रहरीले आश्रमबाटै युवतीहरु बेपत्ता भएको घटनाको छानबिन सुरु गरेको छ । अधिकारीहरुका अनुसार ८ नेपाली युवती बेपत्ता भएका हुन् । बेपत्ता हुने अर्की एकजना भने भारतकै बिहार राज्य निवासी नाबालिग रहेको बताइएको छ ।

आश्रमले भने युवतीहरु हराएको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन । स्रोतका अनुसार उनीहरुलाई जीबी रोडस्थित रेड लाइट एरियाबाट उद्धार गरी आश्रममा राखिएको थियो । सुरुमा द्वारका आश्रममा राखिएका उनीहरुलाई गत मे महिनामा संस्कार आश्रममा ल्याइएको बताइएको छ ।

महिला एवं बाल विकास विभागअन्तर्गतको सो आश्रममा निकै कडा सुरक्षा प्रवन्ध छ । कडा सुरक्षाका बाबजुद उनीहरु कसरी बेपत्ता भए भन्नेबारे प्रहरीले गम्भीर रुपमा छानबिन अघि बढाएको जनाइएको छ ।

दिल्ली महिला आयोगले यसबारे गम्भीर चासो राखेको छ । ती युवतीहरुलाई आयोगकै पहलमा उद्धार गरिएको थियो ।

करिब दुई दशक पुरानो उक्त आश्रममा महिला र पुरुषका लागि अलग अलग राख्ने व्यवस्था छ । अधिकारीहरुका अनुसार आश्रममा एक सय भन्दा बढी महिलालाई राखिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्