मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विवाद बढ्दै

मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विवाद बढ्दै

तेह्रथुम, २० मङ्सिर ।  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदाय बीच विवाद बढ्न थालेको छ । सो डाँडा हाल पूर्व–उत्तरमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर–पश्चिममा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा दक्षिण–पश्चिममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा पर्दछ ।मेन्छ्यायेमको शीरमा किराँत धर्मावलम्वीले माङहिम (मन्दिर) निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बु समुदायले लिम्बु जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गर्न थालेका हुन् ।

मेन्छ्यायाम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा उत्रिएका युमा धर्मी लिम्बू समुदायले मेन्छ्यायाम डाँडा संरक्षण समिति नै गठन गरेका छन्  ।समितिले मेन्छ्यायाम डाँडामा लिम्बू समुदायको इतिहास र मौलिकतासँग जोडिएको हुनाले पनि भौतिक संरचना निर्माण गर्न नदिने घोषणा गरेका छन् ।विरोधपछि निर्माणाधीन मन्दिर निर्माणको काम रोकिएको छ । संरक्षण समितिका सचिव भिमसेन लिम्बुले लिम्बु समुदायको हरेक संस्कारसँग जोडिएको मेन्छ्यायेम डाँडामा सिमेन्ट, रड, इँटालगायतका सामग्री प्रयोग गरेर भौतिक संरचना निर्माण गर्दा लिम्बु समुदायको संस्कार र अस्तित्वमाथि आक्रमण भएको आरोप लगाए ।

पाँचखपन नगरपालिका संखुवासभाका सेवालुङ लिवाङले मन्दिर निर्माण हुनु लिम्बु सम्प्रदायमा विचलन आउनु भएको बताए । उनले भने, ‘यो क्षेत्रमा मानव निर्मित कुनै संरचना बन्नु हँुदैन, जस्तो छ त्यस्तै अवस्थामा छाडिनु पर्छ ।’लिम्बुहरुको मौलिकता भनेको प्रकृति पुज्नु र ऐबा, साम्बा तथा फेदाङमाहरुबाट संस्कार चलाउनु भएको मुन्धुमबिद अर्जुनबाबु मावोहाङले बताए । ‘मेन्छ्यायेम डाँडा सिद्धि प्राप्तिको स्थल हो’ उनले भने, ‘यो पवित्र ठाँउको नाम मुन्धुम वाचनमा मात्र आउछ ।’ भौतिक वस्तुहरुले आस्थालाई धरापमा पार्ने उनको भनाइ छ ।

समुन्द्र सहतबाट तीन हजार दुई सय मिटर उचाइमा रहेको यस डाँडामा लिम्बु मुन्धुम अनुसार प्रारम्भिक कालमा युवादेवी खेली हिड्ने, पालाम गाई हिड्ने, बिहानीको समयमा बालक, मध्यान्हमा मस्त तरुनी र बेलुकीपख बुढी महिलाको रुपमा रुपधारण गरी विलय हुने खालको अद्भूत शक्ति भएकाले यस ठाउँमा भौतिक संरचना बनाउन नहुने मुन्धुमविद माबोहाङको भनाइ छ ।मेन्छ्यायाम डाँडाको इतिहास केही फरक भएकाले यो डाँडामा बलि भोग, होम होमादि, मूर्ति पूजा, मदिराजन्य भौतिक पूर्वाधार निर्माण लगायतका केही पनि काम र पूर्वाधार निर्माण गर्न नहुने उनको भनाइ छ । ‘नयाँ बन्ने संरचनाका कारण मेन्छ्यायाम डाँडाको मौलिकता नै हराउँछ,’ माबोहाङले भने । किराँत धर्मावलम्बीहरूले मेन्छ्यायाम डाँडामा लिम्बू जातिको संस्कार विपरीत कार्य गरेकोले त्यसको विरोध गरिएको उनको भनाइ छ । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्