इन्दु साह
विराटनगर । विराटनगरको तरकारी बजारमा तरकारीको मूल्य सस्तिएको छ । मोरङ लगायत नेपालको विभिन्न जिल्लाबाट दैनिक तरकारी आउने विराटनगरको नयाँ गुद्रीमा तरकारीको मूल्य सस्तिएको हो ।
नयाँ गुद्रीमा दैनिक बिहानको समयमा होलसेलमा तरकारी खरिद गर्न खुद्रा व्यापारीको भीड लाग्ने गर्दछ । तरकारी व्यापारीहरुका अनुसार मौसम अनुकलताका कारण उत्पादन राम्रो हुने भएकोले मूल्य घटेको हो । नयाँ गुद्रीका होलसेलर शक्ति ट्रेडिङका व्यापारी अशोक कुमार मेहताका अनुसार हरियो तरकारीको उत्पादन बढि भएकोले मूल्य घटेको हो ।
तर, तरकारीको मूल्य कम भएपनि उपभोक्ताको चहलपहल नभएको उनको भनाई छ । आईतबार गुद्रीमा टमाटर ३२ रुपैयाँ, हरियो खुर्सानी ७०, फूलकोभी ५ रुयैयाँ, काँक्रो ७०, क्याप्सीकम ७०, हरियो मटर ५०, गाँजर ४५, स्कूस ३०, फर्सी ३० रुपैयाँ प्रतिकेजि थोकमूल्य रहेको छ । यता खुद्रामा तरकारी बेच्दै आएका नयाँ गुद्रीकै व्यापारी कुन्दन साहका अनुसार भान्टा ४० रुपैयाँ केजी, टमाटर ३५, मूला १५, काँक्रा ७०, खुर्सानी ८० रुपैयाँ केजी, गाजर ५०, फुलकोभी १०, बन्दाकोभी १०, क्याप्सिकम ७०, चुकन्दर ८०, सेतो आलु ३०, रातो आलु ४०, टमाटर ७० रुपैयाँ केजीमा बिक्री भइरहेको छ।
विराटनगरमा नेपालका विभिन्न जिल्लाबाट हरियो तरकारी आउने गरेको छ । लामो समय पछि विराटनगरको बजारमा तरकारीको मूल्य घटेको हो ।
गुद्रीमा बिहान ३ बजेदेखि बिहान११ बजेसम्म खुद्रा तरकारी व्यापारीहरुको भीड हुने गरेको छ ।
विराटनगरका विभिन्न स्थलका व्यापारीहरु नयाँ गुद्रीमा होलसेल मूल्यमा तरकारी खरीद गर्न आउने गरेका छन् ।