प्रदेश र स्थानीय तहमा सडक हस्तान्तरणमा ढिलाई, सडक मर्मत र निर्माण कार्य रोकियाे 

प्रदेश र स्थानीय तहमा  सडक  हस्तान्तरणमा ढिलाई,  सडक मर्मत र निर्माण कार्य रोकियाे 

विराटनगर, १ पुस। एक नम्बर प्रदेशका सडकहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियामा ढिलाई हुँदा प्रदेशका धेरै सडकहरुको मर्मत र निर्माण कार्य रोकिएको छ । 

असोज १२ गते नै सडक विभागले सडक हस्तान्तरण गर्नुपर्ने भएकाले सडक मर्मत र निर्माण रोक्न निर्देशन दिएदेखि नै सबै काम रोकिएको छ । एक नम्बर प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले सडक हस्तान्तरण गराउने प्रक्रिया नै ढिलो शुरु गर्दा सडक मर्मत र निर्माणमा समस्या आएको हो ।

पूर्वाधार विकास कार्यालयले भने मंसिर २४ गते मात्र सडक हस्तान्तरण गर्न आग्रह गर्दै संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयहरुलाई पत्र लेखेको छ । सुनसरी मोरङमा ९० वटा सडकहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने देखिएकोमा १४ वटा सडकहरु मात्र पूर्वाधार विकास कार्यालयले हस्तान्तरणका लागि आग्रह गरेको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।

प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडकहरुको बजेट पूर्वाधार विकास कार्यालयमा पठाइएको र ठेक्का भने संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालयमा रहेकाले सडकको मर्मत र निर्माण नै विगत दुई महिना देखि रोकिएको छ । केही सडकहरुको स्वामित्वमा प्रदेश र संघीय सरकार बीच अन्यौल समेत रहेको छ । सडक हस्तान्तरणको प्रक्रियामा भएको ढिलाईले यस वर्ष सडक मर्मत र निर्माण नै ठप्प हुने प्राविधिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्