पथरीकाे मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा एकजना स्थानीय पक्राउ

पथरीकाे मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा एकजना स्थानीय पक्राउ

विराटनगर, ५ पुस ।  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा एकजना स्थानीय पक्राउ परेका छन् ।

पथरी शनिश्चरे–१ का ३९ वर्षीय प्रकास भनिने रत्नबहादुर धिमाललाई प्रहरीले बिहीबार दिउसो पक्राउ गरेको हो । अहिले प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थलबाटै प्रहरीले एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा, बारुद, विजुलीको तारबाट बनाइएको पासो, खुकुरी, कपडा लगायत सामान पनि बरामद गरेको छ ।

पक्राउ परेका धिमालविरुद्ध हातहतियार खरखजाना ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले बताएको छ । हातहतियार खरखजानापछि वन ऐन अन्तर्गत मुद्दा चलाउन उनलाई वन कार्यालयको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले बताए ।उनका अनुसार गोप्य सूचनाका आधारमा दिउसो साढे २ बजे पुगेको प्रहरी टोलीले धिमाललाई पक्राउ गरेको हो । प्रहरीलाई देख्न साथ चित्तल मार्ने काममा संलग्न अन्य ५÷६ जना भने त्यहाँबाट फरार भएका थिए ।पक्राउ परेकाले दिएको सूचना र जानकारीका आधारमा फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । धिमाललाई भने भाग्न खोज्दै गर्दा घेरा हालेर नियन्त्रणमा लिएको बताइएको छ ।

चित्तल मार्ने धन्दामा वन्यजन्तुको चोरी सिकारी गर्ने समूहको संलग्नता रहेको प्रहरीको भनाइ छ । बन्दुक हानेर मारिएको २ वर्षजतिको चित्तलको वायाँ पातोमा गहिरो चोट लागेको छ ।घटनास्थल पथरी बजारबाट लगभग साढे १ किलोमिटर टाढा छ । चित्तल मारेर आगोमा पोलिसकेपछि मासु भाग लगाउने तयारी गर्दै गर्दा घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।पक्राउ परेका धिमाल लामो समयदेखि वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । अन्य फरारहरु पनि यही धन्दामा संलग्न रहेको पुष्टि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्