पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्ने, तीन तहकै निर्वाचन एकै दिन गर्न सुझाव

पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्ने, तीन तहकै निर्वाचन एकै दिन गर्न सुझाव

विराटनगर, ७ पुस ।  प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छान्ने विधि अवलम्वन गर्ने अख्तियारी प्रदान गर्दै नेपाल पत्रकार महासंघको विराटनगरमा जारी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विराटनगर सम्मेलनले पत्रकारिता पेशालाई शुद्धिकरण गर्ने तथा प्रदेश सरकार र स्थानीय तहहरुले बनाउने प्रेस सम्वन्धी कानूनहरुमा लगाउन सक्ने अंकुशप्रति सचेत रहन निर्देश पनि गरेको छ ।
केन्द्रीय प्रतिनिधि (पार्षद) मार्फत केन्द्रीय नेतृत्व निर्वाचित गर्दै आएको नेपाल पत्रकार महासंघलाई आगामी अधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्ने बाटो खुलेको छ । प्रतिनिधि मार्फत निर्वाचित हुने प्रणाली अत्यन्त महंगो, भड्किलो र स्वतन्त्र मत अभिव्यक्तीमा पनि समस्या आएपनि प्रत्यक्ष निर्वाचन प्रणालीमा जान सम्मेलनले महासंघलाई अख्तियारी दिएको हो । पुरानो निर्वाचन प्रणालीले सृजना गरेको विकृती, विसंगती अन्त्य गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
विराटनगरमा भएको राष्ट्रिय सम्मेनलले दिएको अख्तियारलाई शुक्रवार र शनिवार धनकुटामा बस्ने महासंघ केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने र आगामी फागुनमा साधारणसभामा पेश गरी विधान संशोधन गर्ने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । आगामी साधारणसभाबाट विधानमै प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गरिने उनले बताउनुभयो । उनले भने  ‘अर्चिलो र भड्किलो निर्वाचन प्रणाली धान्न सक्ने अवस्था रहेन त्यसैले अब प्रत्यक्ष रुपमा निर्वाचित हुने र तीन तहकै निर्वाचन एकैपटक गर्ने गरी विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजान्छौं ।’
सम्मेलनमा सहभागी पत्रकार महासंघका सबै जिल्ला शाखा, एशोसिएट्स, प्रतिष्ठान र प्रदेश कमिटिका पदधिकारीहरुले निर्वाचन प्रणालीको विकल्पमा जान सुझाव दिएका थिए ।
विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले सदस्यता वितरणको अनुगमन तथा नियमन गर्ने अधिकार प्रदेश समितिलाई दिएको छ । सम्मेलनले आर्थिक स्रोत खोज्ने र पत्रकारिताको विकासका लागि कार्यक्रमहरु सञ्चालन गर्ने अधिकार पनि प्रदेश समितिलाई नै दिएको छ ।
त्यस्तै निजामती सेवामा रहेका सबै र शिक्षण पेशामा भएका निष्कृय सबै सदस्यहरुको नविकरण रोक्न पनि सम्मेलनले निर्देशन दिएको छ । सम्मेलनले व्यवसायिक पत्रकारिताको मर्यादालाई कायम राख्न सदस्यता वितरण र नविकरणमा कठोर बन्न पनि भनेको छ । महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रदेश समितिको अधिकारबारेको निर्देशिका र महासचिव रमेश विष्टले प्रस्तुत गर्नुभएको संगठनको आवधिक प्रतिबेदनमाथि छलफल भएको थियो
विराटनगर सम्मेलन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो ।  सक्रिय श्रमजीवि पत्रकारलाई सबै खाले सञ्चार सामग्री सञ्चार गृहले उपलव्ध गराउनु पर्ने, संचारगृह र पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउनु पर्ने, सबै तहमा महासंघको काम कारबाही निगरानी गर्न राष्ट्रिय परिषद गठन गर्नुपर्ने जस्ता विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्