नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात , अत्याधुनिक प्रविधिले युक्त हुने

नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात , अत्याधुनिक प्रविधिले युक्त हुने

भउचप्रसाद यादव

काठमाडौँ, पुस १२ गते । वि.सं. २०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको शुरुवात भएको छ । काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त नवधरहराको निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा राजधानी प्रमुख स्मारक हुनेछ ।
धरहरासँग काठमाडौंवासीको मात्र होइन धेरै नेपालीको भवना जोडिएकोले अब बन्ने धरहरा पूर्णरूपमा नेपालीहरूकै लगानीमा बनाउने निर्णय सरकारले गरेको छ । त्यसका लागि सरकारले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुरु गरिसकेको छ । यस अभियान अन्तर्गत हालसम्म करिब २४ करोड रुपियाँ कोषमा जम्मा भएको प्राधिकरणले जनाएको छ । काम पूर्णरूपमा शुरु भएपछि यो अभियानलाई थप तीव्र बनाउने प्राधिकरणको योजना छ ।
धरहरा बनाउन आवश्यक छ छैन, कसरी बनाउने, कसलाई जिम्मा दिने भन्ने निकै लामो समयसम्मको बहसपछि अन्ततः सबैको साथ र सहयोगमा यो स्मारक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपालीहरूकै लगानीमा नवधरहरा निर्माण गर्न सरकार तयार भएको छ । निर्माणका लागि भने प्राधिकरणले चिनियाँ निर्माण कम्पनी जेडआईईसी र रमण (जेभी)लाइ जिम्मा दिएको छ ।
सोही अनुरूप करिब एक महिना अघिदेखि सुन्धारा परिसरमा काम शुरु भइसकेको छ । पुस १२ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवस पारेर यसको औपचारिक शिलान्यासको पनि हुँदैछ । आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न भइसक्ने दाबी प्राधिकरणको छ ।

यस्तो छ धरहराको विस्तृत परियोजना
प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार नवधरहराले करिब ४२ रोपनी क्षेत्रफल समेट्नेछ । त्यसमा हालको टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ ।
नयाँ धरहराका डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो । उक्त डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ । तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ । क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ ।
नवधरहरामा माथिल्लो भागसम्म पुग्न र ओर्लनका लागि दुई वटा अत्याधुनिक लिफ्ट जडान गरिनेछ । धरहराको अठारौँ तलामा १७ जनासम्म अट्ने सानो थिएटर बनाइनेछ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको श्रव्यदृश्य प्रस्तुत हुनेछ । करिब २४५ फिट अग्लो धरहराको सबैभन्दा माथिल्लो भागमा सीसाले घेरिएको ‘भ्यू डेस्क’ निर्माण गरिनेछ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गराउनुभएको धरहरा ११ तलाको थियो । १९९० सालको भुइँचालोले २ तला भत्किएपछि पुनर्निर्माण गर्दा ९ तलामा सीमित हुन पुगेको थियो । त्यसको उचाइ २०३ फिट मात्र थियो । धरहरामा चढ्नका लागि २१३ वटा सिँढी थिए ।

dharahara design
अब सुन्धरामा क्षतिग्रस्त धरहराको ठुटो भाग, अत्याधुनिक नवधरहराको साथै इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका नेपाली मुद्रा छाप्ने पुराना मेसिन, गोश्वारा हुलाक कार्यालयमा रहेको पुराना टिकटलगायतका ऐतिहासिक वस्तुहरूको सङ्ग्रहालय समेत निर्माण गरिने प्राधिकरणको योजनामा छ । दुई वर्षभित्र सम्पन्न हुने परियोजनाका लागि करिब ३ अर्ब ४८ करोड (भ्याट र १० प्रतिशत मूल्यवृद्धि) सहित लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै धरहरा निर्माणका क्रममा केही वर्षदेखि पानी आउन छोडेको ऐतिहासिक सुन्धारालाई पनि सकेसम्म प्राकृतिक र नभए अन्य कुनै उपायले भए पनि निरन्तर पानी आउने गरी सञ्चालनमा ल्याइने योजना रहेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताउनुभयो । त्यसका लागि विभिन्न सम्भाव्यता अध्ययन भइरहेको उहाँको भनाइ छ ।

अहिले देखापरेका समस्या
अहिले धरहरा निर्माण क्षेत्रको चारैतिर ‘प्रोटेक्सन पाइलिङ’को काम, जग खन्ने काम भइरहेको छ । त्यो काममा पनि निकै समस्या देखिएको छ । सहसचिव मानन्धरका अनुसार धरहरा क्षेत्रमा टेलिकमको अण्डरग्राउण्ड फाइबर, विद्युत्का अण्डरग्राउण्ड केबल, खानेपानीका पाइपहरू परेकाले निर्माणकार्य सोचेजस्तो तीव्र गतिमा अगाडि बढ्न सकिरहेको छैन । ती सबै पाइप लाइन र तारहरूलाई अन्यत्रबाट व्यवस्थापन गरेर निकै ध्यानपूर्वक काम गर्नुपरेको छ । धरहरा परिसरभित्र जमिनमुनि टेलिफोनका २२ हजार तार बिछ्याइएको रहेछ । त्यस्तै टक्सार परिसरमा स्थानीय मानन्धर समुदायको कुलदेवता रहेको स्थानीयवासीको दावी छ । नवधरहराको निर्माण भइसकेपछि स्थानीयवासीको उक्त संस्कृति र परम्परालाई निरन्तरता दिन पनि प्राधिकरणले सहमति जनाएको छ । सोही अनुसार विगत पाँच दशकदेखि स्थानीयवासीहरूका लागि बन्द रहेको टक्सार परिसरभित्र परेको बाटो पनि खुला गरिएको छ । यो बाटो खुलेपछि टुँडिखेल–खिचापोखरी हुँदै न्युरोडसम्मको आवागमन सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्