पुर्वका गोदाममा चिनी छ , उखु किसान समस्यै समस्यामा

पुर्वका गोदाममा चिनी छ , उखु किसान समस्यै समस्यामा

नवराज कट्टेल

विराटनगर, पुस १६

उखु पेल्ने समय शुरु हुँदासम्म उखु काट्ने पुर्जी जारी नभएपछि किसानले उत्पादन गरेको बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था आएको छ । उखुको समर्थन मूल्य नतोकिनु, किसान र उद्योगीबीच मूल्यमा सहमति हुन नसक्नुले बिक्री गर्नुपर्ने बाली खेतमै रहेको छ ।

उद्योगी र किसानको राय अनुसार सरकारले कात्तिकमा समर्थन मूल्य तोकिदिँदा किसान र उद्योगीबीचको सहमतिमा मङ्सिर अन्तिम सातादेखि उखु काट्ने पुर्जी जारी हुने गरेको थियो । पुस लाग्दादेखि उखु पेल्न शुरु हुने गरे पनि यस वर्ष मिल सञ्चालन हुनुपूर्वको तयारीसमेत गरिएको छैन । सरकारले मूल्य निर्धारणमा ढिलाइ गरेपछि यसको असर भने किसानलाई पर्ने देखिन्छ । जति सुख्खा मौसम लम्बिँदै जान्छ, त्यति नै उखुको तौलमा ह्रास आउने गर्दछ ।
मूल्यमा किसान र उद्योगबीच सहमति हुन नसक्दा पाकेको उखुको बाली खेतमै छ । जसका कारण कात्तिक र मङ्सिरमा खेती लगाउने समयमा किसानले उखुको नयाँ बाली लगाउन खासै जाँगर लगाएका छैनन् ।

पाकेको बालीले मूल्य पाउने देखिए माघ, फागुन र चैतमा नयाँ खेती विस्तार गर्ने मनसायमा धेरै किसान रहेको कोसी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीले बताउनुभयो । उखुको नयाँ खेती लगाउने समय कात्तिक र मङ्सिरपछि माघ, फागुन र चैत १५ सम्मलाई मानिन्छ ।sugar_1
तीन जिल्लाको उखु खरिद गर्दै आएको सुनसरी बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिलले गत वर्ष उत्पादन भएको चिनी बिक्री नभई गोदाममै थन्किएका कारण उखु खरिद गर्न नसकेको बताउँदै जनाउँदै आएको छ । उत्पादन भएकामध्ये ३५ हजार क्विन्टल चिनी मिलको गोदाममै थन्किएपछि किसानको खेतमा पाकेको उखु खरिद गर्ने सुरसारसमेत अहिलेसम्म गरिएको छैन ।
उखु पेल्ने कार्यसँगै उत्पादन भएको चिनी भण्डारण गर्ने समस्या रहेकोले मिल चलाउन आवश्यक प्राविधिक तयारीसमेत नगरिएको प्रमुख उखु प्रबन्धक सुरेश मेहताले बताउनुभयो ।

मिलको मोलासिस्ट (छुवा) भरिएको ट्याङ्कीसमेत अहिलेसम्म खाली नगरिएको उत्पादन निरीक्षक बीआर दाहालले बताउनुभयो ।
आयातित चिनीको प्रभावका कारण नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री हुन नसकेको दाबी उद्योगीहरूको छ । गत वर्ष नेपालमा दुई लाख ३६ हजार मेट्रिक टन चिनी आयात भएको थियो । निर्यातमा अनुदान पाएको चिनी व्यापारिले आवश्यकताभन्दा बढी आयात गरे पनि नेपाली उद्योगले उत्पादन गरेको चिनीले मूल्य पाउन सकेन ।

उत्पादन लागत बढी भएको नेपाली निर्यातमा अनुदान पाएर आयात भएको विदेशी चिनीको व्यापारले समस्या सिर्जना गरिदिएको हो । नेपालमा दुई लाख ५० हजार मेट्रिक टन चिनी खपतमध्ये गत वर्ष एक लाख ७८ हजार मेट्रिक टन चिनी नेपालमै उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्