विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदले संचालन गरेको तालीमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनुभएको छ ।
परिषद पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज यहाँ आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुन:संचरना प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले वर्तमान आवश्यक्तालाई ध्यानमा राखी आफ्ना प्रोग्रामलाई विविधिकरण गर्नु पर्ने सुझाव दिनुभयो ।
मुख्यमन्त्री कार्कीले तीन तहको सरकारको बीच समन्वय कायम गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद पुनसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरुको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यस सम्बन्धी तालीम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले स्पष्ट रणनीति र कार्यनिधिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको अभावमा ताला लगाउनु पर्ने अवस्थामा सिर्जना भएकामा चिन्ता व्यक्त गर्दै यस विषयमा गहिरो छलफल गरी सार्थक निश्कर्षमा पुर्याउनु जरुरी रहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्र्तीण विद्यार्थीहरुलाई छ महिनाको सूचना प्रविधिको तालीम एवं ल्यापटप उपलव्ध गराई स्वरोजगा बनाउने कार्य अगाडि वढाइरहेको जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषदले तालीम दिनुपर्ने सुझाव दिनुभयो ।
नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गर्नुभयो । परिषदका सदस्य सचिव ई मोहन भट्टराईले व्यवसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको धारणा राख्नुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले परिषदको विकेन्द्रीकरणगरी प्रदेश सरकारको नेतृत्वमा परिषद सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिनुभयो । प्राविधिक परिषद पुनसंरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यवसायिक तालीमको स्तरवद्धि गर्न नागरिक शिक्षा,वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । अन्तरक्रियामा प्रदेशमा परिषदद्वारा सञ्चालित तालीम केन्द्र,निजी,सरकारीको प्रतिनिधित्व रहेको थियो ।
प्रदेशमा परिषदको आङ्गिक सात ,सरकारी ४१ र ५० बटा नीजि प्राविधिक शिक्षालय सञ्चालनमा रहेको छ।