समायोजनको बिरोधमा कर्मचारी धर्नामा, विराटनगरमा लेखा समुहका कर्मचारी पनि आन्दोलनमा

समायोजनको बिरोधमा कर्मचारी धर्नामा, विराटनगरमा लेखा समुहका कर्मचारी पनि आन्दोलनमा

विराटनगर, १७ पुस ।
सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा धर्ना दिएका छन् ।
उनीहरुले बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिँदै आएका हुन् । धर्नामा बसेका कर्मचारीहरुले कानुनको शासन पालना गराउँ, विभेदकारी समायोजन स्वीकार्य हुँदैन, संघमा ठाउँ देउ, गाउँ जान तयार छौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका कर्मचारीहरुले केन्द्र सरकारअन्तर्गतको महालेखा नियन्त्रण कार्यालयबाटै परिचालित हुन पाउनुपर्ने माग गरेका छन् । संघ, प्रदेश र विभिन्न स्थानीय तहअन्तर्गत रहेर सेवा दिंदै आएका उनीहरुले प्रदेशबाट परिचालित हुनुपर्दा देशभरिको एकीकृत आर्थिक विवरण तयार गर्न समस्या हुने दाबीसमेत गरेका छन । मोरङको बेलबारी नगरपालिकामा कार्यरत लेखा अधिकृत टेकनाथ रेग्मीले हुलमुलमा गरिने समायोजनले कर्मचारीको बृत्तिविकासमा समेत अवरोध हुने दाबी गरे ।
लेखा समुहका कर्मचारीहरुले महालेखा नियन्त्रक कार्यालयमार्फत अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्रसमेत पठाएका छन । अध्यादेशको विरोधमा उत्रिएका उनीहरुले आइतबार कोष तथा लेखा नियन्त्रक कार्यालयमा १ घण्टा धर्ना दिएका थिए । बिरोधका थप कार्यक्रमअन्तर्गत १७ गते पेन डाउन र १८ गते आर्थिक कारोबार ठप्प पार्ने उनीहरुले जनाएका छन् । देशभरिमा ५ हजार ३ सय र मोरङमा १ सय ५० जना लेखा समूहका कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्