अष्ट्रेलियामा बहिनीसँग फोनमा कुरा गर्दागर्दै मारिइन् छात्रा

अष्ट्रेलियामा बहिनीसँग फोनमा कुरा गर्दागर्दै मारिइन् छात्रा

मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत इजरायलकी एक २१ वर्षीया छात्रालाई आफ्नी बहिनीसँग फोनमा कुरा गरिरहेको बेलामा कसैले आक्रमण गरेर हत्या गरेको छ । आइया मासार्वे नामकी ती छात्राको शव ला ट्रोब विश्वविद्यालय नजिकै फेला परेको थियो । उनकी बहिनीले कुरा गर्दागर्दै फोन खसेको आवाज समेत सुनेको जनाएकी छन् ।

उनले आफूले अन्य आवाज पनि सुनेको प्रहरीलाई बताएकी थिइन् । प्रहरीले हत्याराको खोजी गरिरहेको बताइएको छ । मेलबर्न एज समाचारपत्रले ती छात्रामाथि यौन ज्यादतीको प्रयास भएको हुन सक्ने जनाएको छ ।

ती छात्राको शव बिहीबार बिहान सपीङ्ग सेन्टरको बाहिर भेटिएकै आसपासको समयमा उनकी बहिनीले पनि अष्ट्रेलियन प्रहरीलाई घटनाको विवरण सुनाएकी थिइन् । उनको शव नजिकै एउटा कालो क्याप र खैरो रङ्गको टिशर्ट समेत फेला परेको छ । ती सामग्रीको फरेन्सिक परीक्षण हुने बताइएको छ । प्रहरीले सीसी क्यामेराको फुटेजको पनि अध्ययन गरिरहेको छ । ती इजरायली छात्रा संघाइ युनिभर्सिटीमा चिनियाँ र अंग्रेजी भाषामा अध्ययनरत रहेकोमा एउटा एक्सचेन्ज कार्यक्रम अन्तर्गत अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयमा गएको उनका काका अबेद कतानेले बताएका छन् । उनी पढाइमा अब्बल रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

गएको जुन महिनामा अष्ट्रेलियामा २२ वर्षीय कमेडियन युरीडाइस डिक्सनको हत्याले गर्दा महिला हिंसाका बारेमा चिन्ता व्यक्त गरिदै आएको बेलामा फेरि अर्को हत्या भएको हो । मेलबर्नमा प्रदर्शन गरेर फर्किने क्रममा ती कमेडियनलाई बलात्कारपछि हत्या गरिएको जनाइएको थियो । सन् २०१२मा पनि आइरिस महिला जील मेघरको बलात्कारपछि हत्या भएको थियो ।

अष्ट्रेलियन मानवअधिकार आयोगले महिला हिंसाका घटना उच्चदरमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको  छ । मेलवर्न अष्ट्रेलियाको दोस्रो ठूलो शहर हो । यो शहरमा अध्ययनका लागि सन् २०१७मा मात्रै २ लाख विद्यार्थी आएका थिए । अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार ५ जनामा १ महिला र २० जनामा १ पुरुष १५ वर्षको उमेरदेखि नै हिंसाको शिकार बन्ने गरेको तथ्यांक रहेको छ । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्