विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजना सुस्तायो

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजना सुस्तायो

नवराज कट्टेल

विराटनगर, फागुन ९ गते

सङ्घ र प्रदेश सरकारको चासोमा परेको विराटनगर विमानस्थल निर्माण तयारीे सुस्ताएको छ । क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने योजनाअघि सारिए पनि त्यसका लागि आवश्यक पूर्व तयारी योजना सुस्ताएको हो । सङ्घीय सरकारअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार योजनालाई कार्यक्रममा समेटेको छ । प्राधिकरणको योजनाअनुसार दुई हजार चार सय मिटर लम्बाइमा विमानस्थलको विस्तार गर्ने भनिएको थियो ।

प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले विमानस्थललाई तीन हजार मिटर लम्बाइमा विस्तार गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेपछि प्राधिकरणले शुरु गरेको तयारीसमेत रोकिएको छ ।
प्रदेश सरकारको निर्णय र आग्रह अनुसार सङ्घीय सरकारको योजनामा विमानस्थल विस्तारको कार्यक्रम नसमेटिएसम्म गुरुयोजना बनाउने कुरासमेत अलमलमै देखिएको छ । गुरुयोजना बनाउनसमेत प्राधिकरणको कार्यक्रमलाई आधार बनाउने कि प्रदेश सरकारको योजना अन्तर्गतको निर्णयलाई आधार बनाउने भन्नेमा अलमल देखिएको हो ।
नागरिक उड्डयन प्राधिकरण विराटनगर शाखाका प्रमुख टेकनाथ रिजालका अनुसार गुरुयोजना तयार गर्ने काम भइरहेको भए पनि अन्तिम रूप दिन सकिएको छैन । विस्तार योजनाका लागि तयार गरिने गुरुयोजनाले निर्धारित गरेको कार्ययोजना अनुसार निर्माणका लागि आवश्यक प्रक्रियाको थालनी हुन्छ ।

गुरुयोजनाले निर्दिष्ट गरेको लम्बाइका आधारमा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । प्राधिकरणले पूर्वसम्भाव्यता र यकिन सम्भाव्यता अध्ययन सकेर आफ्नो कार्यक्रममा समेटिए अनुसारको दुई हजार चार सय मिटरमा विस्तारको योजना अघि बढाइसकेको अवस्थामा सुधार गर्दै तीन हजार मिटर विस्तार योजनाको तयारी गर्नुपर्ने हुन्छ ।
विमानस्थल विस्तारका लागि लग्गा अधिग्रहण गर्ने कामलाई चाँडै नगरेमा कङ्क्रिट तथा स्थायी ढाँचाका संरचनाले स्तरोन्नतिमा समस्या पार्नसक्ने दबाबसमेत रहेको छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्नुपर्ने विमानस्थललाई प्रभाव पार्ने गरी संरचना निर्माण अनुमति नदिन भूमि प्रशासनसम्बन्धी कार्य गर्ने मालपोत कार्यालय, नापी कार्यालय, निर्माण अनुमति प्रदान गर्न महानगरपालिका तथा स्थानीय वडा कार्यालयसँग यसअघि नै प्राधिकरणले पत्राचार गरिसकेको प्रमुख सिटौलाले बताउनुभयो ।
विमानस्थलदेखि पूर्वतर्फ जमिन अधिग्रहण गर्नसक्ने अवस्था नभएको र पश्चिमतर्फको जमिन अधिग्रहण गर्ने अवसरलाई चाँडै लिनसके फाइदा हुने बताइन्छ । जमिनको बढ्दो मूल्य र अवसर हेरेर जग्गा प्लटिङ गर्ने काम हुने भएकोले सतर्क रहनुपर्ने देखिएको छ ।

प्राविधिक रूपमा विमानस्थललाई दुई हजार चार सय मिटरमा विस्तार गर्न १२५ बिघा जमिन अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई सय सिट क्षमता भएका मेडियम जेट वायुयान उडान र अवरणका लागि यो दूरी भएको धावनमार्गले पुग्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा तीन हजार मिटरमा विस्तार गर्न २५० बिघा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । त्यसका लागि उत्तर र दक्षिणतर्फको जमिनको क्षेत्रफलसमेत विमानस्थलका लागि आवश्यक पर्छ । विस्तारित क्षेत्रको दुई हजार आठ सय मिटरमा रहेको केसलिया खोला ३.५ किलोमिटर डाइभर्सन गर्नुपर्ने चुनौती यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्