इलामको जौबारीमा आलुको बीउ रोप्दै केन्द्र, बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढ्यो

इलामको जौबारीमा आलुको बीउ रोप्दै केन्द्र, बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढ्यो

कोकिला ढकाल

इलाम, फागुन २० गते । चार वर्षअघि उत्तरपूर्वी सिमाना इलामको जौबारीमा स्थापना भएको आलु विकास केन्द्रले आलुको बीउ रोप्न थालेको छ । यहाँ उत्पादन भएको बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढेसँगै केन्द्रले आगामी वर्षका लागि आलुको बीउ रोप्न थालेको हो ।  केन्द्रले यो वर्ष एक सय २५ मन आलु रोपिसकेको छ । अब ३० मन जति बीउ रोप्न बाँकी रहेको केन्द्रका निमित्त प्रमुख गणेश खत्रीले बताउनुभयो । पछिल्ला दिनमा दिनहुँ जसो पर्ने गरेको हिउँ र तुषारोका कारण तयार गरिएको बीउ रोप्न बाँकी छ, खत्रीले भन्नुभयो । वर्षैभर जस्तो हुस्सु र चिसो हुने जौबारीमा लगाइएको आलुमा डढुवा र ढुसी रोगले आलुलाई बढी नोक्सान गरेको खत्रीको भनाइ छ ।

नेपाल–भारत सीमा नजिकै रहेको भारतको सिंहलिला नेसनल पार्कबाट आउने वन्यजन्तु बँदेल र मृगले पनि यहाँको आलु तथा किसानले लगाएको बाली नस्ट गरिदिने कारण पनि समस्या रहेको निमित्त प्रमुख खत्री बताउनुहुन्छ । केन्द्रले गत वर्ष आलु विकास केन्द्र खुमलटारबाट ल्याइएको बीउलाई नै विकास गरेर यो वर्ष जनक देव, खुमल सेतो, डेजिरे, खुमल उपहार, कार्डिनल, कुफ्री ज्योति, पीबीएसलगायतका जातको आलुको बीउ लगाएको छ । यो वर्ष चार सय मन उत्पादन हुने अनुमान गरिएको आलु अलि तल्लो भागका किसानकोमा भने एक किलो बराबर १५ किलोसम्म उत्पादन भएको पाइएको खत्रीले जानकारी दिनुभयो ।
केन्द्रले यो समयमा लगाएको आलु आगामी साउनमा मात्र पाक्ने गरेको छ । साउनमा उत्पादन भएको बीउ तल्लो भेग अर्थात कम उचाइमा बस्ने किसानले हिउँदे आलु लगाउने र लेकका किसानले भने अर्को वर्ष बर्खे आलु नै रोप्ने गरेका छन् । गत वर्ष प्रतिकिलो ६० रुपियाँका दरले बीउ आलु बिक्री गरेको केन्द्रले किसानका समूह र सहकारीमार्फत किसानलाई दिने गरेको छ ।

इलाम, पाँचथर, ताप्लेजुङसम्मका किसानले माग गर्दै आएको यहाँ उत्पादित आलुको बीउ आर्थिक वर्ष ०७४÷०७५ मा तीन सय आठ मन आलुको बीउ उत्पादन भएको थियो । यस्तै ०७५÷०७६ मा चार सय ३० मन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । सडक तथा यातायातको पहुँच कमै हुने यो क्षेत्रमा चार सय दस हेक्टर सरकारी जग्गा रहेको छ । आलु विकास केन्द्र र कृषि अनुसन्धान केन्द्रले करिब छ हेक्टर जमिन मात्र प्रयोग गरेका छौँ, खत्री भन्नुहुन्छ, बाँकी जमिन खाली छ, बाली, बीउ लगाउन घेराबारा नगरी अरू उपाय छैन, वन्यजन्तु र अत्यधिक चिसो नै यहाँको ठूलो समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्