विराटनगर, २८ फागुन । टिनको दोमल्ले घरमा भाटाको बेरामा माटोले लिपपोत गरिएको छ । सेतो रंगमा पुरानौ शैलीको यो घर परैबाट खुलेको देखिन्छ । बरन्डामा राखिएका गमलामा रंगीबिरङ्गी फूल ढकमक्क छन् ।
निकै सफा देखिने आँगनमा वन अमलाको अग्लो र बूूढो रुख छ । धेरै हाँगा त सुकिसकेका छन् । तर, केहीमा भने अझै फल लागेको देखिन्छ । सफा आँगन वरिपरि फुलेका फूलले निकै आकर्षक लाग्छ विराटनगरको ‘कोइराला निवास’ । प्राकृतिक माहोलले घर र वरिपरिको सुन्दरता झनै बढाएको छ । पक्कीघरको मूलद्वारमै एउटा फ्रेममा चिठी देखिन्छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले लेखेको चिठी हो त्यो । बरन्डामा करिब २० जना मानिस अटाउने गरी कुर्सी र बेन्च राखिएको छ । पहिलो पटक विराटनगरको ‘कोइराला निवास’ छिर्ने मानिसको नजरमा पर्ने दृश्य लगभग यत्ति नै हुन् ।
यहीँबाट कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई जनताको वास्तविक अवस्था देखाउन फाटेको भोटो पार्सल गरेर पठाएका थिए । प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहीँबाट फुकिएको थियो । उनका तीनै छोरा मातृका, वीपी र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए ।
नेपाली राजनीतिक आन्दोलनको आफ्नो मौलिक पहिचानको कुरा आउँदा कोइराला निवास र यसको विरासतको प्रसंग नउठ्ने कुरै भएन । यसको विरासत जोगाउन र नेतृत्व लिन पिताजी कृष्णप्रसाद कोइरालाको तेस्रो पुस्ता दौडधुपमा छ । यसबीच कोइराला निवासको ऐतिहासिकता र मौलिकता भने झन् चुलिँदो छ । पछिल्लो पटक खासगरी नेपाली कांग्रेसको नेतृत्वको प्रसंग आउँदा धेरैको प्रश्न हुने गर्छ, ‘‘पार्टीमा कोइराला निवासको विरासत कायम हुन सक्ला त ? अथवा नेतृत्वमा को पुग्छ होला ?’’
तेस्रो पुस्ताका डा. शेखर, डा. शशांक र सुजाता कोइराला आफूहरुमा फुट नभएको बरु एकसाथ रहेको भन्दै देशव्यापी सन्देश दिइरहेका छन् । वीरगञ्जमा तीनैजना नेताले १ सय २१ केजीको एउटै माला लगाएर ‘कोइरालाहरु’ एक ढिक्का भएको सन्देश दिए । यो समाचारले निकै चर्चा पनि पायो । यद्यपि आफूहरु ‘एक रहेको’ र ‘तीनतिर मुख नलगाएको’ सन्देश कोइराला परिवारका यी सदस्यहरुले विराटनगरको कोइराला निवास अघिल्तिर सुजाताले निर्माण गरेको जीपी फाउन्डेसनको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा यसअघि नै दिइसकेका थिए । त्यतिबेला पनि तीनै जनालाई एउटै माला लगाइएको थियो ।
केहीअघि प्रेस युनियन मोरङले कोइराला निवासमै आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृत्वको होडमा रहेका डा. शेखर कोइरालालाई प्रश्न गरियो,– सभापतिमा आफैं उठ्नुहुन्छ कि महामन्त्री शशांक कोइरालालाई छाडिदिनु हुन्छ ?
‘‘त्यो त त्यतिबेलै थाहा हुन्छ– शंशाकले छाड्ने हुन् कि मैले । अहिल्यै भन्दा अलि चाँडो हुन्छ,’’ डा. शेखरले कांग्रेस सभापतिको तयारीमा आफूलाई होमिसकेको संकेत दिँदै जवाफ दिएका थिए । उनले कोइराला एक भएको, फुट नभएको तर कोइराला परिवारको ‘लिगेसी’कै आधारमा मात्र कोही नेतृत्वमा पुग्ने भन्ने अवस्था नरहेको स्पष्ट सुनाए । ‘‘समय र परिस्थितिअनुसार नेतृत्व आउने हो,’’ कोइरालाको भनाइ थियो । यद्यपि कांग्रेस केन्द्रीय सदस्य डा. शेखर पार्टीका कार्यक्रममा देश दौडाहा गरिरहेका छन् ।
डा. शशांकले विराटनगर आएका बेला निकटवर्ती र पत्रकारहरुमाझ आफू पनि नेतृत्वका लागि सक्षम भएको प्रस्ट गरेका थिए । ‘‘पार्टीको नेतृत्व लिन म पनि सक्षम छु । हेरौं, समय र परिस्थिति कस्तो बन्दै जान्छ ।’’ उनले कांग्रेसलाई रुपान्तरण गर्नका लागि पनि नयाँ नेतृत्व चाहेको संकेत गर्दै परिवर्तनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे ।
विराटनगरमा कुनै समय थियो, जतिबेला कोइराला निवासमा मानिसहरुको भीडभाड हुन्थ्यो । आगन्तुकलाई गिलासका गिलास चिया र प्लेटका प्लेट खाजा बाँडिन्थ्यो । भनिन्थ्यो, ‘कोइराला निवासबाट कोही पनि भोकै फर्कंदैनन् ।’ घारको ‘रानु’ को रुपमा नोना कोइरालाले कमाण्ड सम्हालेकी थिइन् । गिरिजाप्रसाद कोइराला पार्टी सभापति र प्रधानमन्त्री हुँदा महत्वपूर्ण कुरा भन्नुपर्दा विराटनगर नै आउँथे । अहिले डा. शेखरले यो परम्परालाई कायम गरेका छन् । काठमाडौंभन्दा धेरै समय विराटनगर र आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहने उनी महत्वपूर्ण भेटघाट निवासमै गर्छन् । गिरिजाप्रसाद आउँदा जस्तै पत्रकारसँगको अन्तरक्रिया र सम्वाद पनि निवासमै हुन्छ । कोइराला भन्छन्, ‘‘विगतमा कोइराला निवासको जे महत्व र विशेषता थियो, त्यो अहिले पनि कायम छ ।’’
गिरिजाप्रसाद कोइरालाको देहावसानपछि केही समय निरसझैं बनेको कोइराला निवास फेरि गुलजार बन्दैछ । सुजाता कोइरालाले नेतृत्व गरेको जीपी फाउन्डेसनको भवन कोइराला निवास अघिल्तिर छ । उनी आउँदा यहाँ कार्यकर्ताको जमघट भइरहन्छ । नआउँदा पनि फाउन्डेसनसँग जोडिएका कांग्रेसजन आउने भइहाले । फाउन्डेसन निर्माण लगत्तै स्थानीय पत्रकारहरुसँगको भेटघाटमा नेतृ सुजाताले पनि आफूहरु तीनै जना पार्टीको नेतृत्व लिन सक्षम रहेको बताएकी थिइन् । उनले आफूहरु फुटेर भन्दा पनि जुटेर नै अघि बढ्ने योजनामा रहेको सुनाउँदै भनिन्, ‘‘हामीहरु एक छौं । तर कसले नेतृत्व लिने भन्ने छ ।’’
पिताजी कृष्णप्रसाद कोइरालाको नासोको रुपमा रहेको विराटनगरको कोइराला निवास सन्तानहरुमा अंशबन्डा भएपछि भने केही खुम्चिएको छ । दक्षिणपट्टीको आफ्नो भागमा परेको ८ कठ्ठा जमिन वीपी पुत्रहरु प्रकाश, डा. शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि त्यहाँ नयाँ व्यापारिक भवन निर्माण भएका छन् । उत्तरपट्टीको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । जसमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरे । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको थियो । यसको चार कठ्ठा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीँ भवन बनाएकी छन् । पुरानो निवास रहेको क्षेत्र केशव पुत्रहरु डा. शेखर र निरञ्जनको भागमा परेको छ, जुन यथावत् छ । यहीँ अझै ‘कोइराला निवास’ जीवित छ तर कांग्रेसमा नेतृत्व लिन तीन कोइरालामध्ये को अग्रसर हुने हुन्न् भन्ने प्रश्नचाहिँ अनुत्तरित नै छ । साभार: बाह्रखरी