झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगियो ,तत्कालीन एमालेले ६० र माओवादीले ४० प्रतिशत नेतृत्व

झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगियो ,तत्कालीन एमालेले ६० र माओवादीले ४० प्रतिशत नेतृत्व

विराटनगर : झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ। दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्।

नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ६ मा तत्कालीन माओवादी केन्द्र र ९ तहमा तत्कालीन एमालेले नेतृत्व गर्ने निर्णय गरेको छ। नेकपा नेता मणिकुमार साम्पाङ (विजय) का अनुसार ३ नगरपालिका र ३ गाउँपालिकाको नेतृत्व तत्कालीन माओवादीले पाएको छ। ५ नगरपालिका, ४ गाउँपालिकाको नेतृत्व तत्कालीन एमालेले पाएको छ।

तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाएका नगरपालिकामा मेचीनगर, भद्रपुर, शिवसताक्षी छन्। यसैगरी हल्दिबारी, झापा र गौरीगन्ज गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाएको छ। प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकसहित गौरादह, कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको नेतृत्व तत्कालीन एमालेले पाएको छ। उसले नेतृत्व पाएका गाउँपालिकामा कमल, बाह्रदशी, केचनवल र बुद्धशान्ति छन्।

झापाका एक सय ३१ वटा वडामध्ये ५३ वटा वडामा तत्कालीन माओवादीले र ७८ वटा वडामा तत्कालीन एमालेले नेतृत्व गर्ने निर्णय भएको छ। अब बन्ने नेकपा झापाको एक सय ७५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन माओवादीको भागमा ७० र तत्कालीन एमालेको भागमा एक सय पाँच सदस्य रहनेछन्।

मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तहको नेतृत्व लिने र तत्कालीन माओवादीले सात तहको नेतृत्व लिने सहमति भएको हो। शनिबार बसेको जिल्ला कार्यदल बैठकले विराटनगर महानगरपालिकाका विषयमा टुंगो लगाउन नसकेपछि केन्द्र र प्रदेशसँग समन्वय गरिने सहमति भएको छ।

तत्कालीन एमालेले सुन्दरहरैंचा, पथरी, उर्लाबारी, रतुवामाई र सुनवर्सी नगरपालिका र कटहरी, ग्रामथान, मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाको नेतृत्व पाएको छ। यसैगरी तत्कालीन माओवादी केन्द्रले बेलबारी, लेटाङ र रंगेली नगरपालिकासँगै केराबारी, बूढीगंगा, जहदा र धनपालथान गाउँपालिकाको नेतृत्व पाएको छ।

नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुंग्याएको जानकारी दिए। उनले उत्तरी मोरङ र राजमार्गमा आधारित ८ स्थानीय तहमध्येबाट तत्कालीन एमालेले पाँच र तत्कालीन माओवादी केन्द्रले तीन तहको नेतृत्व गर्ने सहमति भएको बताए। मध्यभागमा रहेका दुई तहमध्ये एकएक तह र दक्षिण क्षेत्रका ६ तहमध्ये तीनतीन तहको नेतृत्व लिने सहमति भएको छ। (अन्नपूर्ण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्