विराटनगर । नेपाल न्यूरो सर्जनको ११ औं राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा पहिलोपटक हुने भएको छ । सुनसरीको इटहरी स्थित होटल सोल्टीमा आज शुक्रबारदेखी मुलुकभरका १५० भन्दा बढी न्युरो सर्जन विशेषज्ञहरुको भेला हुने भएको हो ।
न्यूरो सर्जन समाजले विराटनगरमा यस अघि नै पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन हुने बारे सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईसकेको छ ।
आजबाट सुरु हुने सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने र दुई दिनसम्म सञ्चालन हुने नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर यमबहादुर रोकाले जानकारी दिनुभयो । सम्मेलनमा देशभरिका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञहरुको सहभागिता रहने जनाईएको छ ।
न्यूरो सर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउनका साथै त्यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको मनोबल वृद्धि गर्न सम्मेलन महत्वपूर्ण हुने आयोजकले जनाएको छ । राष्ट्रिय सम्मेलनको अवसर पारेर समाजले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एकदिने कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । उक्त गोष्ठीमा विज्ञ चिकित्सकहरूले विभिन्न विषयहरूमा जानकारी गराइएको थियो ।