झापा चिया वगान आन्दाेलन : महिला कामदार भन्छन्, ‘धेरै समस्या हुने भनेको बिरामी हुँदा’

झापा चिया वगान आन्दाेलन : महिला कामदार भन्छन्, ‘धेरै समस्या हुने भनेको बिरामी हुँदा’

बिबिसी, झापा, २१ चैत । रनमाया विश्वकर्माले झापास्थित टोकला चिया बगानमा काम गर्न थालेको २६ वर्ष भयो। चिया बगानमा मजदुरी गर्न थाल्दा उनी महिनाको १२ रुपैयाँ पाउँथिन्। अहिले उनी दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाउँछिन्।

त्यो कमाइले उनले गाँस, बास र कपास पुर्‍याउनु पर्छ। छोराछोरी पढाउने र बेलाबेला बिरामी हुँदा उपचारका लागि खर्च निकाल्नु पर्छ। विश्वकर्मा भन्छिन्, "यो कमाइले आफूलाई मन लागेको खानेकुरा खान पुग्दैन। त्यही कमाइले सबैकुरा गर्नुपर्छ, गाह्रो छ।"

झापा हल्दिबारीकी अर्की चिया मजदुर लीला कार्कीले पनि चिया बगानमा काम गरेको १५ वर्ष पुग्यो। मासिक ३० रुपैयाँदेखि काम गर्न शुरु गरेकी उनले हालसम्म खासै बचत गर्न सकेकी छैनन्। उनलाई सबैभन्दा धेरै समस्या हुने भनेको बिरामी हुँदा हो।

उनी भन्छिन्, "सरकारले मजदुरका लागि राम्रै होस् भनेको होला तर चिया बगानका मालिकले किन सरकारले तोकेको तलब दिन मान्दैनन् थाह छैन।"

विश्वकर्मा र कार्की जस्तै पूर्वी नेपालका ४ सय भन्दा बढी चिया बगानका करिब ६० हजार मजदुर अहिले काम छाडेर सरकारले तोकेको ज्याला पाउनुपर्ने माग गर्दै सडकमा आएका छन्। उनीहरू गत चैत १७ गतेदेखि आन्दोलित बनेका हुन्।

यो सहित चालू आर्थिक वर्षमा उनीहरूले गरेको यो तेस्रो आन्दोलन हो। यस अघिका आन्दोलनमा उद्योगीबाट सरकारले तोकेको ज्याला पाउने आशामा काममा फर्किएको मजदुरहरू बताउँछन्। तर यसपटक भने आफूहरूको माग पूरा गराएरै मात्र आन्दोलन अन्त्य गर्ने उनीहरूको अठोट देखिन्छ। उनीहरूले माग पूरा गराउन दबाब दिँदै दैनिक र्‍याली र सभाहरू गरिरहेका छन्।

नेकपा निकट चिया मजदुरहरूकी एकजना नेता सीता सापकोटाले सरकारले तोकेको ज्याला नदिएसम्म मजदुर काममा नफर्कने बताइन्। उनले भनिन्, "जबसम्म श्रम ऐनले तोकेको ज्याला उपलब्ध हुँदैन तबसम्म यो आन्दोलन जारी रहन्छ।"

नेपालबाट निर्यात हुने प्रमुख कृषिजन्य उत्पादनमा पर्ने चिया क्षेत्रमा भइरहने बारम्बारको आन्दोलनले उक्त क्षेत्र धरासायी बन्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नेहरू पनि छन्।

विगतमा चियाको हरियो पत्तीको मूल्यबारे किसानले गरेका आन्दोलनहरू र सरकारले तोकेको ज्याला मजदुरलाई दिन नसकिने चिया उद्योगीको आन्दोलनका कारण चिया उद्योग पटक-पटक बन्द हुने गरेका छन्।

एकजना चिया उद्योगी चन्डी पराजुली भन्छन्, उद्योगले धान्न नसक्ने ज्याला तथा अन्य सुविधाको माग गर्दै आन्दोलन जारी रहे चिया उद्योग अप्ठयारोमा पर्न सक्छ। उनले भने, "यस्तै पारा हो भने हामीले हात उठाउनु बाहेकको विकल्प छैन।"

हालसम्म चिया मजदुरले दैनिक ८ घन्टा काम गर्दा २ सय ७८ रुपैयाँ ज्याला पाउँदै आएका छन्।  श्रम ऐन-२०७४ जारी भएपछि चिया मजदुरको ज्याला बढेर ३ सय ८५ पुगेको छ। सोही ज्याला चिया व्यवसायीले दिन नमानेको मजदुरहरूको भनाइ छ।

एकजना मजदुर नेता दीपक तामाङका अनुसार गत साउन महिनादेखि मजदुरहरूले दैनिक ३ सय ८५ रूपैयाँका दरले पाउनुपर्ने ज्याला हालसम्म पाउन सकेका छैनन्। छिमेकी देश भारतमा भने चिया मजदुरले दैनिक एक सय ७५ भारतीय रुपैयाँ ज्याला पाउने गरेका छन्। जुन नेपालका मजदुरले अहिले पाइरहेको ज्यालाको करिब बराबर हो।

तर उनीहरूले सरकारका तर्फबाट दैनिक उपभोग्य सामान खरिदमा धेरै छुट पाउने गरेका छन्। नेपालमा भने अहिलेसम्म त्यस्तो प्रावधान छैन।

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ। यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। ऐनले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ। श्रम ऐन-२०७४ आउनु अघि चिया क्षेत्रका लागि छुट्टै व्यवस्था रहेको चिया नीति थियो। तर उक्त ऐनले चिया नीति खारेज गरिदिएकाले चियालाई अन्य उद्योग सरह राखेको उद्योगी बताउँछन्। जसका कारण चिया व्यवसाय नै धरापमा पर्न लागेको चिया उद्योगी चन्डी पराजुलीले बताए।

यसअघिको ऐनले कामदार स्थायी भइसकेपछि मात्रै सञ्चयकोष र उपदान पाउने व्यवस्था थियो। स्थायी र अस्थायी कामदारको सट्टा अबदेखि नियमित, कार्यगत, समयगत आकस्मिक र आंशिक कामदारको रूपमा वर्गीकरण गरिएको छ।

चिया क्षेत्रमा मौसम अनुसार कामदार लगाइने भएकाले उक्त श्रम ऐनमा राखिएको व्यवस्था चिया क्षेत्रका लागि प्रतिकूल भएको अर्का चिया उद्योगी विनय पोखरेलको दाबी छ। नेपालमा वार्षिक करिब दुई करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग छ। जसको मुख्य बजार भनेको भारत नै हो। पहाडमा उत्पादित अर्थोडक्स चिया भने अन्य देशहरूमा पनि निर्यात हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्