चिया किसानकाे आन्दाेलन: सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग

चिया किसानकाे आन्दाेलन: सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग

इलाम, ३ बैशाख । सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका चिया मजदुरको समस्या सूर्योदय नगरपालिकाका निजी कारखानाले सुनेका छन् ।

सरकारको समेत स्वामित्व रहेको चिया विकास निगम अन्तर्गतको व्यवस्थापनले भने उनीहरूको मागको बेवास्ता गरिरहेको छ । सरकारले राजपत्रमा प्रकाशित गरेर तोकेको सेवा सुविधा माग गर्दै १६ दिनदेखि आन्दोलनमा उत्रिएका मजदुरको माग सम्बोधन गर्दै सूर्योदय टी प्रोड्युर्सस एसोसिएसनले साउन १ देखि श्रम ऐनमा भएको ज्यालासहितको व्यवस्था लागू गर्ने निर्णय गरेको एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । एसोसिएसनले नियुक्तिपत्र पाएका मजदुरलाई श्रम ऐनअनुसार सुविधा दिने घोषणा गरेको हो ।

संघले साउनअघि नै भारतले लगाएको सीएफएल टेस्टको प्रावधानलाई सहज बनाउनुपर्नेलगायत २५ वटा माग समेत अघि सारेको छ । एसोसिएसनले माग पूरा नगरे मजदुरले मागेको ज्याला र सुविधा दिन नसक्ने समेत प्रष्ट पारेको छ । सचिव कट्टेलले भने, ‘सरकारले माग पूरा नगरे कारखाना बन्द हुन्छन् । घोषणा कार्यान्वयन गर्न सकिँदैन ।’

सूर्योदय नगरपालिकाको पहलमा मजदुरका प्रतिनिधि र एसोसिएसनको वार्तापछि कारखानको समस्या समाधान गरेर सेवा सुविधा उपलब्ध गराउने सहमति जनाइएको छ । इलामको करिव ९० प्रतिशत चिया भारत जाने गरेको छ । भारतले सेन्टर फुड लेबोरेटोरी (सीएफएल)मा नेपालको चिया परीक्षण नगरी भारतमा बिक्री गर्न रोक लगाएपछि व्यवसायी मर्कामा पर्दै आएका छन् । एसोसीएसनमा ५२ चिया कारखाना आबद्ध छन् । सूर्योदय नगरपालिकाभित्रकै एसोसिएसनमा आबद्ध नभएका नौवटा चिया कारखाना र चिया विकास निगम अन्तर्गतको व्यवस्थापन पक्षसँग पनि मजदुरको माग सम्बोधन गराउन पहल भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ ।

सरकारको स्वामित्व रहेको चिया विकास निगम अन्तर्गतको इलाम र झापामा रहेका सातवटा वगानका मजदुरले भने व्यवस्थापनले मजदुरको कुरा नसुनेको बताएका छन् । नेपाल चिया मजदुर श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले व्यवस्थापनले श्रम ऐन लागू गर्न अस्वीकार गरेको बताए । सरकारले संघाई समूहलाई आधाभन्दा बढी हिस्सा सेयर बिक्री गरेपछि सो समूहले इलाम र झापाका सातवटा वगानको व्यवस्थापनको जिम्मा पाएको छ ।

अध्यक्ष तामाङले श्रम ऐन लागू नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘भोकै सडकमा सुनेर भए पनि आन्दोलन सफल पार्छौ ।’ निगम अन्तर्गतको बगानमा मात्र तीन हजार पाँच सयभन्दा बढी मजदुर छन् । इलामको इलाम, कन्याम, चिलिमकोट र सोत्तिम चिया वगानका मजदुर अहिले तलव र सुविधाको माग गर्दै आन्दोलनमा छन् ।

२०५७ सालमा चिया वगान र कारखाना निजीकरणसँगै मजदुरले दुःख पाउन थालेको मजदुरको आरोप छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ६५ प्रतिशत शेयर बिक्री गरिएको हो ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाईमा आन्दोलन भइरहेको हो । सरकारले गत साउनदेखि लागू हुनेगरी चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ । अन्नपुर्ण पाेष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्