विराटनगर टर्मिनल बसपार्क देशकै नमुना बनाईदै, मासिक १० लाख उठाउन चुनौती

विराटनगर टर्मिनल बसपार्क देशकै नमुना बनाईदै, मासिक १० लाख उठाउन चुनौती

विराटनगर, ५ बैशाख ।
विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनको काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकासँग भएको सम्झौता पछि बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई नमुनाको रुपमा अगाडी बढाउनको लागि काम शुरु गरेको हो । गत माघ १६ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको बिराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि गत फागुन २२ गते सम्झौता भएको हो ।

सम्झौता पश्चात बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई नमुना बनाउनको लागि फर्निचर, बगैचा, ट्रयाक ब्यवस्थापन, काउण्टर निर्माण लगायतको काम पहिलो चरणमा सम्पन्न भएको छ । त्यस्तै समितिले सिसी क्यामेरा जडान, बसपार्क ब्यवस्थापन समितिको कार्यालय ब्यवस्थापनको काम समेत भईरहेको बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार, बसपार्क भित्र चिलिङ सेन्टर (चिसो पिउने पानी), प्रत्येक ट्रयाकका पोलमा दोहोरो फुल सहितको गमलाको ब्यवस्थापन, यात्रु प्रतिक्षालय निर्माण, बसहरु धुनका लागि मोटर जडान तथा बसपार्कको माथिल्लो तलामा क्यान्टिन ब्यवस्थापनको काम समेत शुरु भईसकेको छ ।

विराटनगर महानगरपालिका र बसपार्क ब्यवस्थापन समिति बिच ५ बर्षको लागि सम्झौता भएको हो । ब्यवस्थापन समितिले बसपार्कलाई ब्यवस्थापन गर्नका लागि कर्मचारी, सवारी ब्यवस्थापन, फोहोर ब्यवस्थापन, यात्रु प्रतिक्षालय कक्षको ब्यवस्थापन लगायतका काम गर्ने सहमती भएको छ ।
महानगरकै कारण एक महिना अलमल
बसपार्कलाई ब्यवस्थित गर्नको लागि महानगरबाट जसरी दु्रत गतिमा काम हुनु पर्ने थियो त्यो अनुसार हुन सकेन । महानगरपालिकाले माघ १६ देखि फागुन १७ सम्म बसपार्क संचालन कार्यबिधि नै बनाउन सकेन । महानगरले बसपार्कलाई ब्यवस्थापन गर्न भन्दै कर्मचारीलाई परिचालन गरेको थियो । तर महानगरले त्यसको सही ब्यवस्थापन गर्न सकेन र त्यसको जिम्मा बसपार्क ब्यवस्थापन समितिलाई दिने बिषयमा छलफल थाल्यो ।
विराटनगर बसपार्क टोलविकास संस्थाको अगुवाईमा बसपार्क संचालनको लागि बसपार्क ब्यवस्थापन समितिको नाममा प्रस्ताव बिराटनगर महानगरपालिकालाई पेश भएको थियो । त्यही प्रस्तावका आधारमा बिराटनगर महानगरपालिका र बसपार्क ब्यवस्थापन समिति बिचमा २०७५ फागुन २२ गते सम्झौता भएको हो।
नगरविकास कोषको ८ करोड ४७ लाखको ऋण सहयोगमा बसपार्क निर्माण भएको थियो । बसपार्क निर्माणसँगै बसपार्क ब्यवस्थापन समिति बनाएर बसपार्कलाई ब्यवस्थित गर्ने काम शुरु भएको छ । महानगरपालिकाले नगर विकास कोषलाई २० बर्षको लागि मासिक ७ लाख ६२ हजार ६७ रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यसैलाई मापदण्ड बनाएर बसपार्क ब्यवस्थापन समितिलाई मासिक ६ लाख तिर्ने गरी हस्तान्तरण गरेको हो । भएको सम्झौतामा बसपार्क ब्यवस्थापन समितिले बार्षिक ५ प्रतिशतले बृद्धिगरी महानगरपालिकालाई रकम बुझाउनु पर्नेछ ।
महानगरसँग भएको सम्झौतालाई कार्यान्वयन गर्न र बसपार्कलाई ब्यवस्थित बनाउनका लागि मासिक करिब १० लाख उठाउनु पर्ने बाध्यता छ । मासिक ६ लाख महानगरपालिकालाई बुझाउनु पर्ने, कर्मचारी १२ जनाको पारिश्रमिक, आन्तरिक ब्यवस्थापनको सबै काम समितिले नै गर्नुपर्ने बसपार्क समितिका सदस्य उत्तमबहादुर चौलागाईले जानकारी दिए ।

बसपार्क नमुना बनाउन यस्ता योजना
विराटनगर टर्मिनल बसपार्कलाई नमुना बनाउनको लागि बसपार्क ब्यवस्थापन समितिले बिभिन्न योजनाहरु अघि सारेको छ । सबै ब्यवस्थापनको जिम्मेवारी आफ्नो काँधमा लिएको समितिले तत्कलै कामको शुरुवात समेत गरेको छ ।
समितिले सम्झौता पछि बसपार्कको दुबै तर्फ गेट निर्माण गर्ने, सिसि क्यामेरा जडान, रसिदमा टोकन सिस्टम, आधुनिक शौचालय, जेष्ठ नागरिक चौतारी, जेष्ठ नागरिक क्वब बनाउने देखि विश्वकर्माको मन्दीर बनाउनेसम्मको योजना बसपार्क ब्यवस्थापन समितिसँग रहेको समितिका सचिव महेन्द्र ढुङ्गानाले बताए । कामको शुरुवात गरिसकेको बताउँदै अब केही दिन भित्रमा विराटनगर बसपार्कलाई देशकै नमुना बनाउने बारेमा समितिले थप गृहकार्य गरी काम अगाडि बढाउने ढुङ्गानाले बताए ।
बसपार्कको आम्दानी
बसपार्क ब्यवस्थापन समितिलाई मासिक करिब १० लाख उठाउनै पर्ने बाध्यता छ, यति रकम उठेमा बसपार्क संचालनका लागि केही सहज हुने छ । विराटनगर बसपार्कबाट दैनिक २ सय देखि ३ सयको हाराहारीमा सवारीका साधनहरु छुट्ने गरेको छ । यसरी बसपार्कबाट छुट्ने सवारी साना सवारीबाट ५० रुपैयाँदेखि एक सय रुपैयाँ सम्म महानगरपालिकाले तोकेको रकम उठाउँदै आएको बसपार्क ब्यवस्थापन समितिका सदस्य भिम अधिकारीले जानकारी दिए । उनका अनुसार म्याजिक भ्यानबाट ५०, माईक्रोहरुबाट ८० र ठुला बसहरुबाट १०० रुपैयाँ लिने भन्ने सम्झौता अनुसारको रकम उठाउँदै आएको हो । तर शुरुदेखि नै बसपार्क ब्यवस्थापनको लागि धेरै गर्न बाँकी रहेकोले शुरुमा केही असहज भएपनि बिस्तारै सहज हुनेमा ब्यवस्थापन समिति विश्वस्त छ । (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्